काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित 

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित 

२०७८, पौष १ बिहिवार

  • 993
    SHARES

  • काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित 

    काठमाडौ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन्।

    काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी गगनकुमार थापाले ३०२३ मत प्राप्त गरेका छन् । महामन्त्रीमा निर्वाचित अर्का विश्वप्रकाश शर्माले १९८४ मत ल्याएका छन् । 

    त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो ।  

    काँग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपसभापति पदमा पार्टीका युवा नेता गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार थिए ।
     
    सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।

    सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वाचित भइसकेका छन् ।
     
    सभापतिबाहेक अन्य पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । 

    यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

    काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
     
    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ ।

    यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । 

    २०७८, पौष १ बिहिवार०४:१५:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार