काठमाडौँ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा.नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा सो आदेश दिएको हो ।
लोक सेवा आयोग मिति २०७६ मङ्सिर २५ को विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नहुँदै मिति २०७८ मङ्सिर २९ मा लोक सेवा अयोगबाट प्रकाशित सूचना नं. ४१८/०७८–०७९ र सूचना नं. ४१९/०७८–०७९ अन्तर्गत समान तहका पदहरूको नतिजा सार्वजनिक नहुँदै समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम यकिन हुनुपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुन्जेल अहिलेकै कायम रहने गरी र अहिले निवेदकलाई अन्याय नहुने गरी गत मङ्सिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुस १३ गते नै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइन्छ ।’ उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशमा भनिएको छ ।
निवेदकका तर्फबाट अधिवक्ता आशिप पन्त र अनुपम भट्टराईले तथा विपक्षी बनाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा लोकसेवा आयोगको तर्फबाट उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता कृष्ण मोहन कोइराला र सहायक न्यायाधिवक्ता चन्द्रप्रसाद सन्जेलले बहस गरेका थिए ।
२०७६ साल मङ्सिर २५ गते गरेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नगरीकनै लोक सेवा आयोगले २०७८ मङ्सिर २९ गते शाखा अधिकृतको विज्ञापन गरेको भन्दै परीक्षार्थिहरुले मुद्दा दर्ता गरेका थिए ।