काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसले सर्वसाधारणमा फेरि निषेधाज्ञाको त्रास बढिरहेका बेला जिल्ला प्रशासनका अधिकारीहरूले निषेधाज्ञा लागू गर्ने अवस्था नआएको बताएका छन् ।
तर, कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाइ गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
सरकारले निषेधाज्ञाको निर्णय लिने अधिकार सीसीएमसी र जिल्लास्तरीय डीसीसीएमसीलाई दिएको छ । यी दुवै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्नेरनगर्ने निर्णय लिने हो । विगतमा पनि स्वास्थ्य मन्त्रालय र विज्ञहरूको राय लिएर विभिन्न चरणमा लकडाउन गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
काठमाडौं उपत्यकाको हकमा पछिल्लो एक सातायता संक्रमण तीव्र गतिमा फैलिएसँगै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा छन् । अहिलेसम्म भएका छलफलले अझै सबै पक्षसँग थप परामर्श र जोखिम मूल्यांकन गरी थप निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
तत्काल निषेधाज्ञाको सोच नबनाएको जानकारी दिँदै उनले भने ‘भीडभाड नियन्त्रणसम्बन्धी केही निर्णयहरू आउन सक्छन् । यसमा हामी छलफलकै चरणमा छौं ।’
सीसीएमसीको बैठकले आइतबार गरेको सिफारिस पनि भीडभाड कम गर्नेतर्फ केन्द्रित रहेकाले तत्काल सबै क्षेत्र बन्द गरेर निषेधाज्ञा गर्नेतर्फ प्रशासनले सोच नबनाएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
अचानक संक्रमण बढ्यो भन्दैमा आत्तिनुनपर्ने तर सचेत हुनुपर्नेमा जोड दिँदै उनले भने – ‘वास्ताविकता के हो भनेर बुझ्नुपर्छ । तर्सिएर लकडाउनमा गइहाल्नुपर्ने अवस्था छैन ।’
तत्काल निषेधाज्ञा जारी गर्नुपर्छ भन्ने पक्षमा स्वास्थ्य मन्त्रालय नरहेको बताउँदै मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले भने – ‘तत्काल लकडाउनमा गइहाल्नुपर्दैन । सबै क्षेत्र बन्द गर्ने कुरा हामीले गरेका छैनौं । पूरा बन्दाबन्दी गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले अहिले सोचेको पनि छैन, मन्त्रालयले त्यसो भनेको पनि छैन ।’
स्वास्थ्य प्रणाली नै धराशयी बन्ने स्थिति आइपर्यो भने चाहिँ निषेधाज्ञाको बारेमा सोच्नुपर्ने जिकिर गर्दै उनले भने– ‘संक्रमण बढ्दै गयो र केही उपाय लागेन, स्वास्थ्य प्रणाली नै धराशयी भयो भन्ने अवस्था सिर्जना भयो भने त के विकल्प रहन्छ र ?’ अहिले पनि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरे संक्रमणलाई रोक्न सकिने दाबी गर्दै उनले एउटै समयमा धेरै बिरामी पर्ने अवस्था कम गर्ने सके अहिले सघन उपचार श्यया (आईसीयू) लगायत स्रोतसाधनले पुग्ने बताए ।
प्रवक्ता अधिकारीका अनुसार कोरोना संक्रमणका बिरामीको उपचारका लागि अहिले देशभर झन्डै २८ सय सघन उपचार श्यया र १ हजार भेन्टिलेटर तयारी अवस्थामा छ । जुन संख्या दोस्रो लहरको भन्दा दोब्बर बढी हो । गत वैशाखयता दोस्रो लहर शुरू भई संक्रमण उत्कर्षमा पुग्दा समेत देशभर एक हजारको हाराहारीमा मात्र सघन उपचार श्यया थियो । त्यसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न सके त्यसपछि आउने समस्यालाई अहिले भएका पूर्वाधारले धान्न सक्ने मन्त्रालयको बुझाइ छ ।