काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र चुनावको मिति तोक्न आग्रह गरेका हुन् ।
आयोगले २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ ।
‘वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारसमक्ष निर्वाचन आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
२०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा रहेको आयोगले जनाएको छ । स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी २०७९ जेठ ५ गते समाप्त हुने आयोगले जनाएको छ ।
