निर्वाचनको मिति सिफारिस गर्न गृहकार्य गर्दै आयोग

निर्वाचनको मिति सिफारिस गर्न गृहकार्य गर्दै आयोग

२०७८, माघ १७ सोमवार

  • 889
    SHARES

  • निर्वाचनको मिति सिफारिस गर्न गृहकार्य गर्दै आयोग

    काठमाडौं । जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत भएसँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचनकोे मिति सिफारिस गर्न गृहकार्य अघि बढाएको छ । निर्वाचनको मिति तोक्न चौतर्फी दबाब परेपछि सत्ता गठबन्धनले आयोगसँग परामर्श गरेर जेठ महिनामै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको थियो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने भनेकाले निर्वाचनको मिति सिफारिसका लागि तयारी गरिरहेको जानकारी दिँदै भन्नुभयो– ‘एकै चरणमा निर्वाचन गर्ने हो भने यो मिति वा कारणवश दुई चरणमा निर्वाचन गर्ने हो भने यो यो मितिमा गर्ने भनेर प्रस्तावित गर्नेछौं ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    निर्वाचनको तयारीका लागि लाग्ने समय, दुई चरणमा गर्दा पहिलो चरण र दोस्रो चरणबीचको तयारीको समय, कुनै समुदाय वा धर्मावलम्बीको पर्व वा विशेष दिन परेको छ कि छैनलगायत सबै पक्ष विचार गरेर निर्वाचनको मिति सिफारिस गरिने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ कार्य सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १ सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।

    आयोगले यसअघि २०७९ साल वैशाख १४ गते बुधबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको थियो । दुई चरणमा गर्ने भएमा पहिलो चरण सो मितिमा र दोस्रो चरण वैशाखको २२ गते बिहीबार गर्न उपर्युक्त हुने सुझाव सरकारलाई दिएको थियो ।

    अब जेठमा निर्वाचन गर्ने भएपछि अर्को मिति सिफारिस गर्न आयुक्तहरूमाझ छलफल गरेर प्रधानमन्त्रीले बोलाएको बेला नयाँ मिति सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । आयोगका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई तीन दिनभित्र आयोगका पदाधिकारीलाई भेट्ने जानकारी दिनुभएको छ ।

    २०७८, माघ १७ सोमवार०८:११:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार