वैदेशिक रोजगार विभागमा आजदेखि प्रहरी टोली, डिएसपीको नेतृत्वमा टोली परिचालन 

वैदेशिक रोजगार विभागमा आजदेखि प्रहरी टोली, डिएसपीको नेतृत्वमा टोली परिचालन 

२०७८, फाल्गुण ३ मंगलवार

  • 1.4K
    SHARES

  • वैदेशिक रोजगार विभागमा आजदेखि प्रहरी टोली, डिएसपीको नेतृत्वमा टोली परिचालन 

    काठमाडौँ। वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन हुने भएको छ ।

    विभागको कार्यालय बुद्धनगरमा मङ्गलवार (आज) देखि प्रहरी नायव उपरीक्षक(डिएसपी) को नेतृत्वमा प्रहरी निरीक्षक(इन्स्पेक्टर)समेत गरी सात जनाको टोली परिचालन हुन लागेको हो ।

    वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि मानव बेखविखन अनुसन्धान ब्युरोबाट प्रहरी खटाइने जनाइएको छ । विभागमा खटिने प्रहरी टोलीले उजुरी लिनेदेखि पक्राउ गर्ने अनुसन्धानको काममा सघाउने पनि सहयोग गर्ने विभागले जनाएको छ ।

    वैदेशिक रोजगारीमा ठगी पुरानै समस्या रहेको र पछिल्लो समय भिजिट भिसाको नाममा धेरै मानिसहरूलाई अलपत्र पार्ने गरेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा अनुसन्धानमा ढिलाइ भयो भन्ने नागरिकको गुनासोपछि त्यसलाई तत्काल समाधानका लागि मन्त्रालयले गृहसँग प्रहरी माग गरेको महानिर्देशक शेषनारायण पौडेलको भनाई छ । 

    यसरी खटिएको प्रहरी टोली विभागकै नियमित कर्मचारी सरह महानिर्देशकको निर्देशनमा काम गर्नेछन् भने निवेदन प्राप्त हुने बित्तिकै तत्कालै व्यक्तिलाई पक्राउ तथा खानतलासी गर्नुपर्ने अवस्थामा पनि खटाउन सकिनेछन् । जसले गर्दा अभियुक्त भाग्न नपाओस् र गुनासाहरू हप्तौँ तथा महिनौँसम्म पनि दराजमा थन्किएर पीडितहरू न्यायबाट वञ्चित नहोस् भन्ने नै रहेको विभागको भनाई छ । 

    प्रहरी टोली काठमाडौँ उपत्यका मात्रै नभई बाहिरसमेत परिचालन हुन सक्ने र यसले ठगहरूलाई ठाउँका ठाउँ ठेगान लगाउन सजिलो हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

    वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगार सम्बन्धी कुनै पनि उजुरी प्रहरीले लिन सक्ने व्यवस्था रहेको छ । ऐनकै व्यवस्थामा टेकेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महिना दिनअघि गृह मन्त्रालयलाई प्रहरी टोली उपलब्ध गराइदिन पत्राचार गरेको थियो ।

    पछिल्लो पटक मन्त्रालयले मातहतका निकायहरूलाई प्रविधिसँग जोड्नेदेखि नियम कानुनतः सुधारका योजनाहरू अघि सारेको छ ।

    २०७८, फाल्गुण ३ मंगलवार०७:२९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार