काठमाडौं । एमसीसी अनुमोदन गर्न अमेरिकाले दिएको समयसीमा (फागुन १६) आउनै लाग्यो। तर, अमेरिकी अनुदान सम्झौता संसद्मा टेबल गर्ने कि नगर्ने भन्नेमै सत्ता साझेदार दलहरू अल्झिएका छन्।
प्रतिनिधिसभाको बैठक आइतबार बोलाइए पनि संसदीय प्रक्रियामा जानेमा अन्योल कायमै छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
संघीय संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूचीमा यो विषय राखेको छैन। संसद् बैठकअघि सत्ता गठबन्धनको बैठक बोलाइएको छ। त्यहाँ सहमति जुटे कार्यसूचीमा भने हेरफेर हुने नेताहरू बताउँछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिकै बैठकमा सम्झौता अघि बढाउन खोजेका थिए। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत नभएपछि देउवापछि हटेका थिए । दलहरूबीच सहमति नजुटेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा राख्न अस्वीकार गरेका थिए ।