नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यले आज शपथ लिँदै

नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यले आज शपथ लिँदै

२०७८, फाल्गुण २१ शनिवार

  • 613
    SHARES

  • नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यले आज शपथ लिँदै

    काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरूले आज शपथ लिँदै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार सदस्यहरूको शपथ शनिवार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ ।

    शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र काँग्रेसका ३ सदस्यको पदावधि शुक्रवार सकिएको छ ।

    पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।

    सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् ।

    निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।

    २०७८, फाल्गुण २१ शनिवार१०:४१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार