काठमाडौं । युक्रेन र रुसको जारी युद्ध, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डलर सटही दरको वृद्धि लगायतका कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य बढाएका छन्। विदेशबाट कच्चा पदार्थ आयात गर्दा मूल्य बढेको बहाना बनाएर व्यापारीले पुरानो स्टक सामान पनि मूल्य बढाएर बेचेका छन्।
अहिले बजारमा मूल्य नबढेको वस्तु सायद छैन। खाने तेल, चामल, दाल, कुखुराको मासु, डिजेल, पेट्रोलसहित रडको समेत मूल्य बढेको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थसम्मको भाउ बढ्दा उपभोक्ता मारमा परेका छन्। विशेष गरी विद्यार्थी, निम्न आय भएका, दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न हम्मे परेको छ।
खाने तेलको मूल्य लिटरमै ४० रुपैयाँ, चामल बोरामा एक सय ५० देखि दुई सय रुपैयाँ, दाल किलोमा २० रुपैयाँसम्म बढेको छ। फागुन पहिलो साता १६ सय ५० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर अहिले १८ सय रुपैयाँसम्म पुगेको छ।
दुई सय ४० रुपैयाँ लिटरमा बिक्री भएको सनफ्लावर तेलको मूल्य दुई सय ८० रुपैयाँ पुगेको छ। त्यसैगरी दुई सय २० रुपैयाँको भटमासको तेलको मूल्य बढेर दुई सय ५५ रुपैयाँ पुगेको छ।
बजारमा अधिकांश वस्तुको मूल्य अचाक्ली बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् । ‘बाह्य कारण देखाएर पुरानो स्टक वस्तुको मूल्य बढाइएको छ,’ उनले भने, ‘सरकारको कमजोर नियमन र अनुगमनको फाइदा व्यापारीले उठाए।’ आपूर्ति सहज बनाउन सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए । मूल्य बढेको बहाना देखाए पनि नयाँ कच्चा पदार्थ नआउँदै पुरानो स्टकको मूल्य बढाउने काम भएको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण डिजेल, पेट्रोलको मूल्य बढे पनि पुरानो स्टक खाने तेलको मूल्यको पनि भाउ बढाइएको छ। यहाँका उद्योगले रुस, युक्रेनलगायतका देशबाट कच्चा पदार्थ आयात गरेर तेल उत्पादन गर्दै आएका थिए।
दालमा पनि किलोमै २० रुपैयाँसम्म मूल्य बढेको छ। एक सय ६० रुपैयाँ किलोको मासको दाल एक सय ८०, एक सय ७० रुपैयाँको रहर दाल एक सय ९० र एक सय ३० रुपैयाँको मुसुरो दालको मूल्य बढेर एक सय ६० रुपैयाँ पुगेको छ।