होलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

होलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

२०७८, चैत्र ३ बिहिवार

  • 1.1K
    SHARES

  • होलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका हाम्रा संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताउनु भएको छ । 

    न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ । 

    नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले उक्त कामना गर्नुभएको हो । 

    स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ । 

    वैदिक परम्परादेखि नै समाजमा असल र खराबबिच द्वन्द्व चल्दै आए तापनि सत्यको नै विजय हुने भन्दै उहाँले होली पर्वले सत्य र न्यायका पक्षमा अविचलित रूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नु भएको छ । 

    ‘हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्छ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सके मात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस्’, सन्देशमा राष्ट्रपतिले भन्नु भन्नु भएको छ । 

    उपराष्ट्रपतिको पनि शुभकामना

    यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि होली पर्वको अवसरमा सबै नेपालीहरूलाई शुभकामना दिँदै यस पर्वले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । 

    प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन र सक्रिय सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ । 

    होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । 

    स्वास्थ्य मापदण्ड पालना गरी होली मनाउन प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै मर्यादित रूपमा होली पर्व मनाउन सबै नेपालीहरूलाई आग्रह गरेका छन् ।

    फागु पूर्णिमा (होली)को अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भई नसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र अरुलाई अवरोध नपुग्ने गरी होली मनाउन आग्रह गरेका हुन् ।

    साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

    उहाँले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबिचको एकता नै नेपालीको पहिचान बनेको उल्लेख गरेका छन् ।

    फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागु पूर्णिमा मनाइन्छ । होलीको अवसरमा आज हिमाली र पहाडी जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ ।

    २०७८, चैत्र ३ बिहिवार०७:०९:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार