काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देश विकासकालागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)संसदबाट पास गरिएको बताएका छन् । मोटरेबल पक्की पुल उद्घाटन गर्न खोटाङ आएका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसीसी नेपालको पक्षमा र विकासको पक्षमा रहेकाले संसदबाट पास गरिएको प्रधानमन्त्री देउवाको भनाई छ ।
यस्तै प्रधानमन्त्री देउवासँगै पुल उद्घाटन गर्न खोटाङ आएका नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल विश्वको जलस्रोतको दोस्रो ठुलो देश भएको उल्लेख गर्दै जलस्रोतको सदुपयोग गरेर देशमा आर्थिक बृद्धि गर्न सकिने धारण राखे । जसलाई अब एमसीसीले सघाउने मन्त्री चौधरीले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल उद्घाटन गर्न सोमबार खोटाङ आएका प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री चौधरी पुल उद्घाटन गरेर सोमबार साँझ काठमाण्डौ फर्किएका छन् । -अर्थ संसारबाट