काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको सम्मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजी) ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जान लागेका कारण नेतृत्व परिवर्तन हुन लागेको हो।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । त्यसैगरी सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल यही चैत २६ गते ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जाने भएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
दुवै प्रहरी संगठनको नेतृत्व परिवर्तन स्थानीय तहको निर्वाचनअघि हुँदैछ। स्थानीय तहको निर्वाचन र त्यसपछि हुने संघीय संसद्को निर्वाचन पनि अब बहाल हुने नयाँ आइजीको सुरक्षा नेतृत्वमा हुनेछ।
निर्वाचनको सम्मुखमा आइजी परिवर्तन हुने भएकाले शान्ति सुरक्षामा असर पर्न सक्ने बताइएको छ। तर यो नियमित प्रकृया भएकाले दुवै प्रहरीको निर्वाचन सेलले शान्ति सुरक्षालगायतका नियमित काम अघि बढिरहेको दुवै प्रहरी संगठनका अधिकारीले बताएका छन्।
सुरक्षा निकायमा सामान्यतः संगठन प्रमुखले एक महिनाअघि बिदा बस्ने प्रचलन भए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने यो अभ्यास छैन। दुवै प्रहरी संगठनमा आइजी नियुक्तिलाई लिएर सत्तारुढ दल र त्यससँग सम्बन्धित नेता कार्यकर्ताले बढी राजनीति गर्ने भएकाले नेपाली सेनामा जस्तो एक महिना बिदा बस्ने अभ्यास छैन।
संगठनबाट बिदा नहुँदासम्म उनीहरू बहालमै रहने गरेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा आइजी नियुक्तिलाई लिएर अस्वस्थ प्रतिस्पर्धा हुने हुँदा एउटै ब्याचका प्रहरी अधिकारीहरू राजनीतिक दलका नेताहरूको घरघरमा पुग्ने गरेका छन्। अझ नेपाल प्रहरीका अधिकारीहरूले नेताको घर चहार्नुलाई सामान्य रूपमै लिने गरिएको छ।
आइजी नियुक्ति जेष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर गर्ने प्रचलन छ। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआइजी० मध्येबाट गर्ने उल्लेख छ। एआइजी नियुक्ति नभएको अवस्थामा आइजी नियुक्ति डिआइजीबाटै समेत गर्न सकिन्छ।