काठमाडौं । काठमाडौं उपत्यकामा ५० दिन देखि जारी रहेको निषेधाज्ञा थप एक साता लम्बिएको छ । पुन: थप भएको निषेधाज्ञामा भने निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ र बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बैठकले जोर दिनमा जोर निजी सवारी र बिजोर दिनमा बिजोर नम्बर प्लेटका सवारी चलाउन पाउने गरि निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेको हो ।
भोलि असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
त्यस्तै बार अनुसार व्यापार व्यवसाय पनि सुचारु गर्ने निर्णय बैठकले गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए ।
यस अघिनै खुल्दै आएको खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
सरकारले अपनाएको यस मोडल स्मार्ट लकडाउन हो र संक्रमण बढेमा पुनस् लकडाउन तिरै जाने चुनौति रहेको पनि बताइएको छ ।