काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् ।
भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ ।
दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा बद्रीबहादुर खड्काले बताए ।
असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका १ लाख ६५ हजार नागरिकले आजबाट खोप लगाउन लागेका हुन् ।
असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।
मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइट https://vaccine.mohp.gov.np/ मा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ ।
अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।