जापानबाट तीन लाख मात्रा खोप नेपाल आइपुग्यो

जापानबाट तीन लाख मात्रा खोप नेपाल आइपुग्यो

२०७८, श्रावण २४ आइतवार

  • 765
    SHARES

  • जापानबाट तीन लाख मात्रा  खोप नेपाल आइपुग्यो

    काठमाडौँ । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप  आइपुगेको छ । 

    कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि  आउने मन्त्रालयले जनाएको छ । 

    यसअघि शुक्रबार भुटानबाट  दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप  पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । 

    हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । 

    यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

    खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो ।

    पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु-याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु-याइएको छ ।

    २०७८, श्रावण २४ आइतवार०१:५८:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार