काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो।
निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त अध्यक्ष निरौलालाई शपथ गराएका हुन्।
शपथपछि कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए। उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए।‘
भूमि आयोग गठन भएको छ, दलित भूमिहीन, भूमिहीन र अव्यवस्थित बसोवासीहरुका लागि गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरु थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौँ’, उनले भने।
अध्यक्ष नियुक्त भएका निरौला यसअघि कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए। उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन्।
यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो। तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो।