कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता

कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता

२०७८, आश्विन २२ शुक्रवार

  • 717
    SHARES

  • कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता

    काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच विहिवार साँझ भेटवार्ता भएको छ ।

    नेपाली कांगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले विहिवार साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए । 

    सो भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो । नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर्ने शैलीका साथै अन्य साङ्गठनिक आदानप्रदानका बारेमा कुराकानी भएको सहमहामन्त्री डा महतले बताए । 

    भेटका क्रममा अध्यक्ष नड्डाले भारत र नेपालबीचको सदियौँ पुरानो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै भारतले नेपाललाई कहिल्यै पनि ठूलो दाजुको मानसिकताबाट नहेरेको र हेर्न नहुने स्पष्ट गर्नुभएको सहमहामन्त्री डा महतले जानकारी दिए । 

    समयसमयमा हुने यस्ता प्रकारका भ्रमण र भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र कतिपय संवेदनशील विषयको बुझाइ र समझदारीमा पनि सहयोग पुग्ने धारणा अध्यक्ष नड्डाले राख्नुभएको पनि डा महतले जानकारी दिए । 

    उनले भारतीय जनता पार्टी तथा भारत सरकारले नेपाली नागरिकको भावनाको सदैव सम्मान गर्ने भन्दै दुवै देशका नागरिकको भावना बुझेर जनताजनताबीचको सम्बन्धलाई थप विकसित गर्ने पक्षमा भाजपा र नेपाली कांग्रेस लाग्नुपर्ने पनि बताएका थिए । 

    भेटका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाजपा अध्यक्ष नड्डालाई दिएको नेपाल भ्रमणको निमन्त्रणा आफूले हस्तान्तरण गरेको जानकारी पनि डा महतले दिए ।       

    उक्त द्विपक्षीय भेटमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि थिए ।  पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको निमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । 

    त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली विहिवार भारत पुगेको हो । सो टोलीले पाँच दिनको भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

     

    २०७८, आश्विन २२ शुक्रवार०७:३६:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार