काठमाडौं । देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रबलीकरण विधिबाट पुनर्निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्याएको सिंहदरबारको तीनवटा खण्ड यसअघि पुनर्निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने पश्चिम खण्डको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले राष्ट्रिय महत्वका रूपमा रहेका ऐतिहासिक भवनको मौलिकता बचाउँदै पुरानै निर्माण सामग्री प्रयोग गरेर प्रबलीकरणमार्फत पुरानै स्वरूपमा पुनर्निर्माण गरेको हो ।
भूकम्पले क्षति पु-याएका ऐतिहासिक भवनहरुलाई प्राधिकरणले आधुनिक र उच्च तहको प्रविधिको प्रयोग गरी हाल पुनर्निर्माण भइरहेको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले प्रबलीकरणमार्फत ऐतिहासिक भवनहरुको वास्तुकला, सौन्दर्य र मौलिकतालाई कायमै राखिएको बताए । उनका अनुसार नेपालमा राणाकालीन भवनको विशिष्ट वास्तुशैली र पुरातात्विक महत्वका सम्पदालाई संरक्षण गर्ने गरी काम भइरहेको छ ।
भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै शैलीमा चुना र सुर्कीको प्रयोग गरिएको बताउँदै विश्वकर्माले आगामी चैतसम्म सम्पन्न हुने गरी काम अगाडि बढाइएको बताए । भवनलाई भूकम्प प्रतिरोधी बनाउन भुइँतलाबाटै फलामको पाता प्रयोग गरेर चारैतिरबाट मजबुत रूपमा कसेर निर्माण गरिएको छ ।