काठमाडौं । प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले राखेको सम्मानजनक बहिर्गमनको प्रस्ताव षड्यन्त्रपूर्ण रहेको आन्दोलनरत कानुन व्यवसायीले आरोप लगाएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको प्रदर्शनमा सहभागी कानुनी व्यवसायीहरूले मंगलबार यस्तो आरोप लगाएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीशले अघि सारेको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षड्यन्त्र लुकेको टिप्पणी गर्दै जबरालाई एक दिन पनि पदमा राख्न नहुने धारणा राखे ।
सम्मानजनक बहिर्गमनको नाममा अनेक प्रस्ताव आएको भन्दै उनले भने– ‘आजको निकास प्रधानन्यायाधीशको राजीनामा हो ।
सुधार गर्ने समय चाहियो भनेर जालझेलको शब्द प्रयोग गरेका छन् ।’ उनले प्रधानन्यायाधीशसँग संवाद गरिरहेका न्यायाधीशहरूलाई पनि सतर्क रहन आग्रह गर्दै भने – ‘सतर्क रहनुहोला, बारलाई बाइपास गरेर कुनै पनि निर्णय नगर्नुहोला ।’
नेपाल बारका पूर्वमहासचिवसमेत रहेका श्रेष्ठले जबराको नेतृत्वमा न्यायापालिका स्वतन्त्र हुन नसक्ने र भ्रष्टाचार नियन्त्रण पनि नहुने टिप्पणी गर्दै न्यायालय र स्वयम् जबराको व्यक्तित्वमा थप क्षति हुन नदिन उनले प्रधानन्यायाधीश पदबाट तत्काल राजीनामा दिनुको विकल्प नभएको बताए ।
कार्यक्रममा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलनलाई अझै कडा बनाउँदै लगिने बताए । उनले बुधबारको विरोध कार्यक्रमपछि राष्ट्रव्यापी छलफलमा जाने जानकारी दिँदै भने– ‘त्यसपछि पनि राजीनामा आएन भने अझै चर्को आन्दोलनमा जानुपर्ने स्थिति हुन सक्छ ।’