पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र

पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र

२०७८, पौष ६ मंगलवार

  • 949
    SHARES

  • पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र

    काठमाडौँ । स्वर्गीय मदन भण्डारीका भूमिगतकालीन हस्तलिखित दस्तावेज सहजै अध्ययन गर्न पाइने भएको छ । राष्ट्रिय अभिलेखालय र मदन भण्डारी स्मृति प्रतिष्ठानको वेबसाइटमा ती दस्तावेज राखिँदै छन् । यही पुस १० देखि ती सामग्री वेबसाइटमा हेर्न पाइनेछ ।

    प्रतिष्ठानका अध्यक्ष गुरु बरालले भने, “पार्टी, राज्य, समाज र आन्दोलनको लोकतन्त्रीकरण गर्न पार्टीभित्र भएका राजनीतिक तथा वैचारिक बहसको सिलसिलेवार पक्षलाई उत्खनन गर्न प्रामाणिक दस्तावेज सार्वजनिक गर्न खोजेका हौँ । कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न त्यो बेलाका पेचिला राजनीतिक बहस कस्ता थिए भन्ने अध्ययन गर्न यी दस्तावेजले सहयोग पुर्याउनेछ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    प्रतिष्ठानले करिब १० वर्ष लगाएर स्वर्गीय भण्डारीसँग जोडिएका दस्तावेज सङ्कलन गरेको उनले जनाए । भण्डारीका निजी सामग्री नक्सालस्थित डेरा र परिवारबाट प्राप्त गरिएको थियो भने भण्डारीका पत्र सम्बन्धित व्यक्तिसँग मागिएका थिए । अभिलेखालयको सहकार्यमा तीन वर्षदेखि ती सामग्री डिजिटाइजेसन गरिँदै आएको छ ।

    वेबसाइटमा भण्डारीले भूमिगतकालमा सुरक्षित राखेका पार्टीका चिठीपत्र, विधान, अन्तरपार्टी निर्देशन, अत्यन्त गोप्य निर्देशन, नेतृत्व वर्गले गरेको आलोचना वा आत्मालोचना, पार्टीले सोधेका स्पष्टीकरण र गरेको कारबाही, बयानसँग सम्बन्धित हस्तलिखित कागजात राखिनेछ ।

    तत्कालीन नेकपा (माले)को चौथो र पाँचौँ महाधिवेशनका दस्तावेज, वैचारिक लेख, वक्तव्य, अपिल, पार्टीका माइन्युट, दासढुङ्गा घटनापछि छापा माध्यममा प्रकाशित समाचार पनि समावेश गरिनेछन् । कोअर्डिनेसन केन्द्रदेखि नेकपा (एमाले)सम्मका दस्तावेज वेबसाइटमा हेर्न पाइनेछ । वेबसाइटमा राखिने ती दस्तावेज तत्काल पढ्नमात्र सकिनेछ तर डाउनलोड गर्न मिल्दैन ।

    प्रतिष्ठानका तर्फबाट डिजिटाइजेसन गर्ने समूहको नेतृत्व गरेका जयन्ता पोखरेलले चार हजार थान कागजात सङ्कलन भई डिजिटाइजेसन भइरहेको बताउँदै भने, “एक तिहाइ दस्तावेज पहिलो चरणमा सार्वजनिक गरिनेछ । केही महिनालगत्तै सबै सार्वजनिक गरिनेछ ।”

    स्वर्गीय भण्डारीले भूमिगतकालमा शार्दूल, श्वेत शार्दूल, सागर, सङ्ग्रामसिंह, लोकेश, बीबीआर, राजमोती, बर्बरिक, भीम अधिकारीलगायत उपनामबाट पत्र लेख्ने गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बरालले स्वर्गीय भण्डारीसँग सम्बन्धित अन्य दस्तावेजको पनि खोजी जारी रहेको बताउँदै हालसम्मका सङ्कलित सबै कागजात अब राष्ट्रिय अभिलेखालयमै सुरक्षित राखिने बताए । 

    २०७८, पौष ६ मंगलवार०८:४५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार