२५ वर्षमा बालोन डि’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बने ह्यारी केन

२५ वर्षमा बालोन डि’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बने ह्यारी केन

२०८३, कार्तिक ११ मंगलवार

  • 201
    SHARES

  • २५ वर्षमा बालोन डि’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बने ह्यारी केन

    एजेन्सी । यस वर्षको बालोन डि’ओर ह्यारी केनले जितेका छन्। सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जिते यता यो अवार्ड हात पार्ने केन पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित भव्य समारोहमा केनलाई विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

    ३३ वर्षीय बायर्न म्युनिखका स्ट्राइकर केन बालोन डी’ओर जित्ने समग्रमा पाँचौं इंग्लिस खेलाडी बने। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए।

    युनाइटेड किङ्डमबाट बालोन डी’ओर जित्ने अन्य खेलाडीमा स्कटल्यान्डका डेनिस ल (१९६४) र उत्तरी आयरल्यान्डका जर्ज बेस्ट (१९६८) छन्। बालोन डी’ओरको दौडमा रियल म्याड्रिड तथा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे दोस्रो तथा बार्सिलोना र स्पेनका युवा स्टार लामिन यामाल तेस्रो भए।

    ‘धेरै मानिसले म यहाँसम्म पुग्छु भनेर सोचेका थिएनन्। सायद मैले पनि आफू यति टाढासम्म पुग्छु भनेर सोचेको थिइन्’, केनले डाज्नसँग भने। उनले थपे ‘विशेषगरी करिअरको सुरुआती चरणमा मैले धेरै उतारचढाव पार गर्नुपर्‍यो। अहिलेका केही खेलाडी जस्तो म सुपरस्टार बन्ने व्यक्ति हुँ भनेर मानिसहरूले कहिल्यै सोचेका थिएनन्। मैले आफ्नो समयको प्रतीक्षा गर्नुपर्‍यो र निकै मेहनत गर्नुपर्‍यो। धेरैपटक मेरो संघर्ष आफ्नै सोचसँग थियो। त्यसबाट पार पाउनुपर्‍यो र आत्मविश्वास तथा दृढता देखाउनुपर्‍यो।’

    केनले गत सिजन क्लबका लागि ५१ खेलमा ६१ गोल गरेका थिए। यो एकै सिजनमा बायर्नका कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो। इंग्ल्यान्डका लागि खेलेका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल गर्नुका साथै ८ असिस्ट गरेका थिए। युरोपका शीर्ष पाँच लिगमा आबद्ध कुनै क्लबका खेलाडीले एक सिजनमा केनभन्दा बढी गोल गरेको इतिहासमा एक जना खेलाडीबाहेक अरू छैनन्। तर केनले गत सिजन फुटबलका दुई ठूला उपाधि जित्न नसकेकै अवस्थामा बालोन डी’ओर हात पारेका हुन्। उनी विश्वकप र च्याम्पियन्स लिग दुवैको सेमिफाइनलमा पराजित भएका थिए।

    इंग्ल्यान्डका कप्तान केन सन् १९८१ मा कार्ल–हाइन्ज रुमेनिग्गेपछि बालोन डी’ओर जित्ने पहिलो बायर्न म्युनिख खेलाडी समेत बनेका छन्। केनको सफलताको खुसीयालीमा सोमबार राति लन्डनस्थित वेम्बली रंगशालाका प्रसिद्ध आर्चहरू सुनौलो रंगले झिलिमिली पारिएका थियो।

    २०८३, कार्तिक ११ मंगलवार०८:२२:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार