किबीका बिरुवा भूटान निर्यात

किबीका बिरुवा भूटान निर्यात

२०७८, पौष ७ बुधवार

  • 1.2K
    SHARES

  • किबीका बिरुवा भूटान निर्यात

    झापा । पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो । 

    भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । 

    रु एक लाख १५ हजार बराबरको एक हजार २०० वटा किबीको बिरुवा भूटान निकासी भएको छ । “चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो”, उनले भने । 

    किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताए । उनले भने, “यसबाट किसानमा उत्साह थपिन्छ ।”

    यसअघि आव २०७४-७५ मा १०० र आव २०७५-७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ । 

    विगत लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बङ्गालादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताए । 

    पाँच वर्ष अघिदेखि किबीको बिरुवा भूटान निर्यात गर्दै आएको उनको दाबी छ । समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ । “यस वर्ष १० हजारभन्दा बढी बिरुवा बिक्री भइसकेको छ”, खतिवडाले भने । 

    २०७८, पौष ७ बुधवार१२:२७:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार