ललितपुर । मुलुकमा रहेका सामुदायिक पुस्तकालयहरूको सर्वेक्षण एवं खोजी गरिने बताइएको छ । गोदावरी नगरपालिका–४ बडिखेलमा अवस्थित ‘गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्र’ ले आज आयोजना गरेको एक कार्यक्रममा रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले नेपाल सरकारअन्तर्गत शिक्षा मन्त्रालय र शिक्षासम्बन्धी अनुसन्धान गर्ने संस्था न्यू ऐराले संयुक्त रुपमा सो काम गर्ने भएको बताए ।
उनले भने, “यस कामले मुलुकमा पुस्तकालय कति छन् ती कस्ता अवस्थामा छन् भन्ने जानकारी लिन सजिलो हुन्छ ।” पुस्तकालयको खोजी गरेसँगै सोको सङ्ख्या कति छन् भन्ने सजिलै थाहा पाउन सकिने उनको भनाइ छ ।
शान्ति भोेलेन्टियर एसोसियसनका कार्यक्रम संयोजक विनोद गुरुङले मुलुकमा पठनपाठन शैलिको विकासका लागि आफ्नो संस्थाले २०७२ सालको विनाशकारी भूकम्पपछि पुस्तकालय मर्मत सुधारमा लागेको बताए ।
पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीले एसोसियसन जापानले सहयोग गरेको रु एक करोड २७ लाख र नगरपालिकाले प्रदान गरेको रु २८ लाख गरी आफूहरूले रु एक करोड ५५ लाखको भवन निर्माणलगायत आवश्यक काम गरिसकेको बताए । उनले भने, “यस पुस्तकालयबाट गोदावरीका नागरिकको शैक्षिक एवं आर्थिक तथा सामाजिक हैसियतमा सकारात्मक अभिवृद्धि गर्ने अभिप्रायका साथ हाल ११ हजार १९० पुस्तकको व्यवस्था गरिसकेका छौँ ।”
सामुदायिक पुस्तकालयमार्फत शैक्षिक प्रतियोगिता अनि घुम्ती पुस्तकालय तथा पुस्तक प्रदर्शनीका साथै साक्षारता कक्षा सञ्चालन एवं बालकक्षा र यससम्बन्धी उद्यान कार्यक्रम आदि अघि बढाएको उनको भनाइ छ ।
कार्यक्रममा उपस्थित व्यक्तिले पुस्तकालयले प्रतिभा प्रस्फुटन अनि स्वास्थ्य सरसफाइ परामर्श तथा महिलाका लागि पुस्तक एवं पत्रपत्रिका अध्ययन गर्ने तथा परामर्श दिने विविध ज्ञानवद्र्धक वृत्त चित्र प्रदर्शनी गर्ने गरेको बताइएका थिए ।
विसं २०७० मा रिड नेपाल काठमाडौँद्वारा तत्कालीन बडिखेल गाविसमा सेवा सुरु गरिएको बताउँदै पुस्तकालय स्रोत केन्द्र रिडकै निरन्तर सहयोग र समन्वयबाट सेवा सञ्चालन र विस्तारको सो अवस्थासम्म आइपुगेको अधिकारीले सुनाए ।
उक्त कार्यक्रममा सो पुस्तकालय स्रोत केन्द्र २०७४ साल भदौ ७ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा दर्ता भई हाल बडिखेलमा आफ्नो लक्ष्य र उद्देश्यमा निरन्तर समर्पित र सञ्चालित भइरहेको जानकारी गराइएको थियो ।