काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटा शीर्षकमा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले बन्द सत्रमा ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ उल्लेख गरिएको प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिवेदनमा वर्तमान परिस्थितिको समीक्षाका साथै अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा र राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा गरिएको छ ।
विज्ञानप्रविधिको विकास र समाजवादको औचित्य उल्लेख गर्दै प्रतिवेदनमा पार्टी इतिहासको संक्षिप्त सिंहावलोकनसमेत गरिएको छ ।
नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिरकार्यनीतिबारे उल्लेख गर्दै उनले समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू पनि प्रतिवेदनमा समावेश गर्दै पार्टीको तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा शीर्षकमा पार्टीले लिनुपर्ने बाटो र कार्यक्रमबारे चर्चा गरे ।
आठौं राष्ट्रिय महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक दस्तावेज अध्यक्ष प्रचण्डले आइतबार बिहान बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पेस गरे ।
दस्ताबेजमा उनले जनयुद्ध र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरू उल्ट्याउन अझै पनि निरंकुश तत्वहरूले टाउको उठाइरहेको निष्कर्ष निकालेका छन् ।
उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको पनि चर्चा गर्दै पुँजीवादले गाँजेको नेपाली समाजबाट अघि बढ्दै समाजवादको लक्ष्य पूरा गर्न सकिने उल्लेख गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
उक्त दस्तावेजमा प्रचण्डले शान्ति सम्झौतामा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै प्रशंसा गरेका छन् । राजतन्त्र फाल्ने पृष्ठभूमिका रूपमा तत्कालीन ७ दल र माओवादीबीच ऐतिहासिक १२ बुँदे सम्झौता भएको र त्यसकै बलमा माओवादी शान्तिपूर्ण राजनीतिमा आउँदै अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै उनले दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा टुटफुटले पार्टीमा क्षति भएको बताएका छन् ।
विस्तारै पार्टीले बलियो एकताको नीति लिएको र त्यसैअनुसार एमालेसँग पार्टी एकता गरेर नेकपा बनाइए पनि त्यो टिक्न नसकेको बताए । आफ्नो प्रतिवेदनमा ओलीको चर्को आलोचना गरेका प्रचण्डले सुशासन र विकासको अपेक्षासहित एकता गरिए पनि ओलीको स्वार्थका कारण एकता टिक्न नसकेको जिकिर गरेका छन् ।
उनले राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख कारण विचारको विकास र स्पष्टताको अभाव नै हो भन्ने तथ्यलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।