काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रका दुईवटा सामुदायिक विद्यालय सहयोगी माध्यमिक विद्यालय र सुन्ताखान माध्यमिक विद्यालयमा नगर प्रमुख सन्तोष चालिसेले नांगो हस्तक्षेप गरेको पाइएको छ ।
सरुवाका नाममा चालिसेले सहयोगीका प्रधानाध्यापक निर्माण न्यौपानेलाई नै बरखास्त गरेका छन् । सेवानिवृत्त हुन १५ महिना मात्र बाँकी रहेको अवस्थामा न्योपानेलाई बरखास्त गरिएको छ ।
केही समय अगाडि नगरस्तरीय बैठकमा दरबन्दी मिलान गर्दा कनिष्ठलाई मात्र पदस्थापन गर्ने, एउटै विषयको २ जना शिक्षक भए जुनियर शिक्षकलाई अन्यत्र पदस्थापन गर्ने र प्रधानाध्यापकलाई नचलाउने मापदण्ड बनाए पनि सो बिपरित गएर चालिसेले प्रधानाध्यापक नै बरखास्त गरेका छन् ।
चालिसेले आफैंले बनाएको मापदण्ड विपरित राजनीति प्रेरित भएर प्रधानाध्यापक बरखास्त गरेका जानकार बताउँछन् ।
मुख्यरुपमा नगरप्रमुख चालिसे सँगको मिलेमतोमा उपप्रमुख शान्ति नेपालले विद्यालय व्यवस्थापन समिति समेत गठन गर्न नदिई यस्तो अवस्थामा विद्यालयलाई पुर्याएकी हुन् स्रोतले बतायो ।
शिक्षा क्षेत्रका नक्षेत्र प्रधानाध्यापक न्यौपानेलाई 'ग्रेसफुल इक्जिट' दिएर बिदाई गर्नु पर्नेमा अपमानित तरिकाले सरुवा गरिएको स्रोतको दाबी छ । उनी सो विद्यालयका द्धितीय श्रेणीका १ मात्र दरबन्दीमा रहेका गणित विषयका माध्यमिक तहका शिक्षक हुन् ।
हाल उक्त विद्यालयमा माध्यमिक तहका गणित विषयका शिक्षक छैनन् ।
त्यसै गरि चालिसेले सुन्ताखान माध्यमिक विद्यालयका प्रधानाध्यापक झलक प्रसाद अधिकारीलाई पनि सोहि प्रकृतिको बरखास्त गरेका छन् ।
अधिकारीलाई भने आफु निकटस्थ भनिएका शिक्षकमा भएको कारवाहीको विषयलाई लिएर प्रतिशोध स्वरुप सरुवा गरिएको बुझिएको छ । केही महिना अघि मात्रै उक्त विद्यालयका एक शिक्षकले विद्यार्थी माथि यौन दुराचार गरेपछि विद्यालयले कारवाही गरेको थियो ।
कारवाहीमा परेका शिक्षकलाई कारवाही नगर्न निरन्तर दबाब दिँदा समेत प्रधानाध्यापक अधिकारी तथा विद्यालय व्यवस्थापन समितिले नमानेपछि नगर प्रमुख चालिसेले ठाडो हस्तक्षेप गरेर अधिकारीलाई समेत बर्खास्त गरेका छन् ।
न्यौपानेलाई गोकर्ण माध्यमिक विद्यालय पाटिचौरमा सरुवा गरिएको छ भने अधिकारीलाई सहयोगी माध्यमिक विद्यालयमा सरुवा गरिएको छ ।