प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

२०७८, पौष १६ शुक्रवार

  • 841
    SHARES

  • प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुक्रबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

    प्रचण्डको प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गर्ने र समूह नेताहरूले छलफलको निष्कर्ष सुनाउने कार्य बिहीबार सकिएको छ । छलफलका लागि शुरुमा २५ वटा समूह बनाइएको भए तापनि पछि सम्पर्क मञ्च प्रदेशको दुईवटा समूहलाई एउटै समूहमा राखिएको थियो । प्रज्ञा भवनमा जारी बन्दसत्रमा बुधबार ११ र बिहीबार १३ वटा समूहका नेताले आआफ्नो समूहको निष्कर्ष सुनाएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    आज शुक्रबार दिउँसो १ बजेबाट शुरु हुने बैठकमा नेता राम कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि राखेको पूरक मतमाथि छलफल हुने भएको छ । आजै अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि रहेको छ । 

    यद्यपि बिहीबार बन्द सत्रमा सहभागी एक नेताका अनुसार प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रममा कार्कीका साथै अर्का नेता धर्मदत्त देवकोटाले पनि आफ्नो फरक मत दर्ता गराएका थिए तर उनको फरक मत भने पढेर सुनाइएन ।

    छलफलकै क्रममा प्रदेश २ को समूह नेता सत्यनारायण भगतले महोत्तरीको खयरमारामा रहेको शहीद रामवृक्ष यादवको शालिक स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भत्काउन लगाएको आरोप लगाउँदै कारबाहीका माग गरेका बताइएको छ । 

    अध्यक्ष मण्डलमा रहेका पोखरेलले आफूमाथि लागेको आरोप गलत भएको अडान राख्दै बन्द सत्रमा नजाने अडान लिएपछि भगतले आत्मालोचना गर्दै पत्र लेखेपछि मात्र पोखरेल बन्द सत्रमा सहभागी भएका थिए ।  

    समूह नेता भगतले समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रममा जनमोर्चासँग पार्टी एकीकरण भएपछि माओवादी पार्टी कमजोर भएको धारणा पनि राखेका थिए । तर जनमोर्चाबाट आएका नेता नारायणकाजी श्रेष्ठ र पोखरेलले तत्काल विरोध जनाएर लिखित रुपमै उक्त भनाइ फिर्ता लिनुपर्ने दबाब दिएपछि उनले लिखित रुपमै आफ्नो भनाइ फिर्ता लिएको उक्त समूहका एक नेताले बताए ।

    समूहगत छलफलमा प्रधानमन्त्री एवं मन्त्रीलाई दुई कार्यकाल र सांसदलाई चार कार्यकालभन्दा बढी बनाउन नहुने सुझाव आएको बताइएको छ ।

    यद्यपि प्रधानमन्त्रीको हकमा भने अहिलेसम्म जतिपटक भए पनि एक कार्यकाल मानेर अर्को एक कार्यकालका लागि अवसर दिनुपर्ने सुझाव दिएर छलफलमा सहभागी नेताहरूले अध्यक्ष प्रचण्डलाई खुसी पारेको सहभागी एक नेताले बताएका छन् ।

    २०७८, पौष १६ शुक्रवार०९:०२:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार