काठमाडौं । राष्ट्रिय युवासंघ नेपालले अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
संघको सोमवार बसेको कार्यालय कमिटी बैठकले पौष २८- २९ गते सचिवालय बैठक पोखरामा आयोजना गर्नेका साथै आगामी डेढ महिना भित्र सम्पूर्ण तहको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
अधिवेशन कार्यतालिका अनुसार देशभर एकैदिन माघ ७ गते वडा तह, माघ १५ गते पालिका तह, माघ २२ गते जिल्ला तह र माघ २९ गते प्रदेश कमिटी तह र फाल्गुन ११ - १३ गते सम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय भएको संघका उपमहासचिव रामजी सापकोटाले बताए ।
यता अधिवेशनको कार्यतालिका सार्वजनिक भए संगै संघको ९ औं राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय अध्यक्ष बन्ने रस्साकस्सी पनि शुरु भईसकेको नेताहरुले बताएका छन् ।
संघका हालका अध्यक्ष किरण पौडेल नेकपा एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अध्यक्षमा समकालिन अन्य नेता चुनिने निश्चित भएको हो ।
पौडेलको विदाईसँगै नयाँ अध्यक्षको खोजीमा हाल उपाध्यक्ष समेत रहेका सन्तोष रावलको चर्चा अग्रपंक्तिमा रहेको बताईएको छ ।
त्यस्तै, उनका समकालिन उपाध्यक्षहरु, क्षितिज थेवे, रोशन बस्नेत र महासचिव रमेश आचार्य समेतको अध्यक्षमा दावी रहने बुझिएको छ ।
संघ हाल तदर्थ कमिटीबाट चल्दै आएको र केन्द्रीय कमिटी बैठक बस्नै ठूलो पार्टी प्यालेस चाहिने अवस्थाबाट मुक्त हुँदै अबको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने पनि जनाइएको छ ।