काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर आगामी निर्वाचनमा जनतामाझ जानुपर्ने बताएका छन् ।
डा कोइरालाले आज आफू निकट नेताहरूसँग छलफल गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई १ नम्बरको पार्टी बनाउन जनतामाझ जानुपर्ने बताए ।
उनले आम पार्टीका कार्यकर्ताको शिर झुक्न र निराश हुन नदिने प्रतिबद्धता व्यक्त गरे । “काँग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी छौँ, तीनै तहको निर्वाचनको परिणाम काँग्रेसको पक्षमा ल्याएर देशको मुहार काँग्रेसले मात्र फेर्न सक्छ भन्ने अभियानमा हामी प्रतिबद्ध छौँ”, उनले भने ।
नेता डा कोइरालाले पार्टीभित्र हुने सबै कार्य न्यायसङ्गत, विधि, विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट गर्न नेतृत्वलाई आग्रहसमेत गरे ।
पार्टीभित्र मनोनीत गर्दा योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।