तनाबपूर्ण खेलमा मरिससमाथि नेपालको दोस्रो जित

तनाबपूर्ण खेलमा मरिससमाथि नेपालको दोस्रो जित

२०७८, माघ १९ बुधवार

  • 1.3K
    SHARES

  • तनाबपूर्ण खेलमा मरिससमाथि नेपालको दोस्रो जित

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलवार साँझ भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गरेका थिए ।

    पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको नेपाल दुवै मैत्रीपूर्ण खेलमा जित हात पार्न सफल भयो । यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्तिमगरले गोल गरेका थिए ।

    मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो । खेलको १३ औँ मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए ।

    नेपालका दिनेश राजवंशीले मरिससका लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो । त्यसबाहेक दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

    यसैगरी खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले रातो कार्ड पाएका थिए । यता नेपालका पुजन उपरकोटीलाई रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड देखाए । 

    खेलको ७८ औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले दोस्रो पँहेलो कार्ड पाउँदै रातो कार्ड बेहोरे । 

    २०७८, माघ १९ बुधवार०७:११:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार