काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले शैक्षिकसंस्था संचालनमा हाल रहेको प्रतिवन्धात्मक व्यवस्थालाई फागुन १ गतेबाट हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
केन्द्रको आइतवारको बैठकले फागुन १ गतेदेखि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न सिफारिस गरिएको बताएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकम नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिएको छ ।
खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्थाका लागि सरकारलाई केन्द्रले सिफारिस गरेको छ ।
खोपकार्ड हराएकाहरूलाई त्यसको प्रतिलिपि सहज ढङ्गले उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरिएको छ ।