काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन ।
उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए ।
उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
राजनीतिको नेतृत्व तहमा बसेर काम गर्ने जोशका साथ नेपालको माटो सुहाउँदो हिन्दुवादी दलको आवश्यकता महशुस गर्दै थापाले नयाँ पार्टी गठन गर्न लागेका हुन् ।