मस्को । कुनै पनि युद्धमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अनगिन्ती खर्च हुन्छ । र यतिबेला रुसले युक्रेन कब्जा गर्ने चर्चा चलिरहेको हुँदा यसको खर्च पुटिनले कसरी धान्नेछन् भन्ने विषय पनि उठिरहेको छ । वास्तवमा तथ्यांक हेर्दा रुसले आर्थिक रुपमा वर्षौँदेखि यसको तयारी गरिरहको देख्न सकिन्छ ।
जस्तै रुसको केन्द्रिय बैंक रिजर्भमा हाल ६४० अर्ब डलर छ । यो भनेको अहिलेसम्मकै धेरैको रकेर्ड हो जुन रकम रुसको १७ महिनाको निर्यात आम्दानी हुन्छ । यसरी इन्धनको भाउ लगातार बढिरहनुले आम्दानी झनै सहज गराइदिएको छ ।
रुसले प्रति दिन ५० लाख ब्यारलसम्म कच्चा तेल निर्यात गर्दछ भने २५ लाख ब्यारल रिफाइन्ड तेल पनि बाहिर पठाउँछ । यो भनेको विश्वव्यापी तेल व्यापारको १० प्रतिशत कारोबार हो । यसको अर्थ अहिलेको मूल्यमा रुसले हरेक दिन ६० करोड डलरसम्म पेट्रो–क्यास कमाइरहेको छ ।
यति मात्र नभएर हरेक दिन २३ अर्ब क्युबिक फिट प्राकृतिक ग्यास पनि बेचिरहेको छ जुन हरेक दिनको ४० करोड डलर हुन्छ ।
त्यस्तै पुटिनले रुसी अर्थतन्त्रबाट डलर कम गर्न अधिक परिश्रम गर्दै आएको पनि पाइन्छ । जस्तै २०१३ सम्म पनि रुसले ब्राजिल, भारत, दक्षिण अफ्रिका र चीनलाई निर्यात गर्दा बदलामा डलर पाउने गर्दथ्यो । तर आज केबल १० प्रतिशत मात्र डलरमा कारोबार गर्ने गरेको छ । साथै पुटिनले भुक्तानका लागि नयाँ प्रणालीहरु पनि निर्माण गरेका छन् । जस्तै रुसको केन्द्रिय बैंकले स्थपित गरेको ‘मिर पेमेन्ट प्लेटफर्म’ यतिबेला एप्पल पेसँग पनि जोडिसकेको छ ।
यससँगै पुटिनले बढ्दो रुपमा डलरको कारोबारलाई सुनले प्रतिस्थापन गर्ने काम पनि गरिरहेका छन् । सन् १९९५ मा केबल २ अर्ब डलर बराबरको सुनबाट अहिले रुसले १३० अर्ब डलरको सुन थुपारिसकेको छ जुन कूल रिजर्भको २० प्रतिशत हुन्छ ।
यत्तिको धेरै मात्रामा सुन केबल अमेरिका, जर्मनी र इटलीसँग मात्र छ ।
रुसले एकदम धेरै सुन, प्लेटिनम र प्यालेडियम आफैँ उत्खनन गर्ने भएपनि भेनेजुएला जस्ता मित्र राष्ट्रबाट पनि सुन संकलन गर्ने गर्दछ । जस्तै २०१९ मा यसले भेनेजुएलाको राजधानीबाट अधिक मात्रामा सुनले भरिएका बक्सा रुसी विमानमा ल्याएको थियो ।
पुटिनले मात्र नभएर रुसको केन्द्रिय बैंकले पनि पछिल्लो एक दशकमा ४५०० टन सुन संकलन गरिसकेको छ ।
‘जोन्स होप्किन्स युनिभर्सिटी’ का अर्थविद् प्रोफेसर स्टिभ हांकका अनुसार रुसको केन्द्रिय बैंकले आफ्नो मुद्रा रुबल व्यवस्थापन गर्नमा उच्चतम क्षमता प्रदर्शन गर्दै आएको छ । २०१६ देखि नै यसले एक रुबेल बराबर ०.१३ डलरको भाउ कायम राख्दै आएको छ । हालैमा मात्र युक्रेन सिमा नजिक हजारौँ सेना खटाएको खबरपछि रुबेलको भाउमा केही समय ८ प्रतिशत गिरावट देखिएको थियो तर पछि फेरि सन्तुलनमा ल्याइएको छ ।
यिनै श्रोतहरु मार्फत पुटिनले रुसी सेनामा निरन्तर लगानी गरिरहेको देखिन्छ । २०१३ मा क्रिमिया कब्जा गर्नु अगाडि पनि रुसले एकै वर्ष सैन्य क्रियाकलापमा ९० अर्ब डलर खर्च गरेको थियो । विश्व बैंकको डाटा अनुसार २०२० मा चाहिँ यसले कूल ६० अर्ब डलर खर्चिएको छ ।
अमेरिकी सेनामा गरिने खर्च– ७८० अर्ब डलरसँग तुलना गर्दा यो रकम केहि नदेखिएला तर कूल घरेलु आमदानीका हिसाबले रुसले ४ प्रतिशत खर्च गरिरहेको छ जुन एकदम धेरै हो । चाहने हो भने पुटिनले सेनामाथिको खर्च अझ बढाउन पनि सक्छन् ।
बीएनपी पेरिबस डाटाका अनुसार रुसको सार्वजानिक ऋण यसको कूल घरेलु उत्पादनको १८ प्रतिशत मात्र छ जसमा बाहिरी ऋण ३० प्रतिशत भन्दा कम छ । उता युक्रेन चाहिँ कूल घरेलु उत्पादनको ८० प्रतिशत ऋणको भारमा छ भने अमेरिकाको ऋण १०० प्रतिशत भन्दा माथि पुगिसकेको छ । -फोर्ब्सबाट