टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

२०७८, माघ २८ शुक्रवार

  • 969
    SHARES

  • टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

    ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेको हो ।

    नेपालले चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा घरेलु टिमलाई हराउँदै विजयी सुरुवात गरेको हो ।

    उनले ५३ बलमा १ छक्का र ८ चौकासहित ७३ रन बनाए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले दोस्रो अर्धसतक बनाएका हुन् । उनलाई साथ दिँदै आरिफ शेखले २५ रन बनाए । यी दुईबीच चौथो विकेटका लागि ४५ रनको साझेदारी भयो ।

    अन्तिम ओभरमा ९ रन आवश्यक थियो, नेपाललाई । दिपेन्द्रले पहिलो र तेस्रो बलमा चौका प्रहार गरेका थिए ।

    प्रारम्भिक ब्याट्सम्यानद्धय आसिफ शेख १४ र प्रदिप ऐरी ४ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भएपछि नेपाल ६२-३ को स्थितीमा पुगेको थियो ।

    त्यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन जोड्यो । नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

    ५८ रन जोड्दा ४ विकेट गुमाएको ओमानका कप्तान जिसन मकसुद र मोहम्मद नदिमले अर्धसतकीय साझेदारी गरे । उनिहरुले पाचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेका हुन्। अविनाशले उक्त साझेदारी तोडेका थिए । मकसुदले अविजित ४३ रन जोडे भने नदिमले ३१ रन बनाए । सुरुका ६ ओभरमा ३ विकेट गुमाएर ४३ रन जोडेको ओमानले अन्तिम ५ ओ‌भरमा ३७ रन थपेको थियो ।

    घरेलु टोलीले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । अविनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । उनले १८ औँ ओभरमा थप दुई विकेट लिएका थिए। उनले चार ओभरमा २६ रन खर्चिए ।

    चार ओभरमा कमलले २५ र दीपेन्द्रसिंह ऐरीले २१ रन दिए। सन्दीपले ३ ओभरमा १७ रन दिए। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सागर ढकालको डेब्यु भने स्मरणीय रहन सकेन। उनले तीन ओभरमा ३६ रन खर्चिए भने विकेट लिन सकेनन् । नेपालले दोस्रो खेलमा शनिबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ ।

    २०७८, माघ २८ शुक्रवार०७:१९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार