भैरहवामा क्यालिब्रेसन फ्लाइट भएपछि चौतर्फी खुसी

भैरहवामा क्यालिब्रेसन फ्लाइट भएपछि चौतर्फी खुसी

२०७८, फाल्गुण ७ शनिवार

  • 1.3K
    SHARES

  • भैरहवामा क्यालिब्रेसन फ्लाइट भएपछि चौतर्फी खुसी

    सिद्धार्थनगर । बहुप्रतिक्षीत राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) भएपछि चौतर्फीरुपमा खुसी भएको छ ।

    शुक्रवार दिउँसो विमानस्थलमा एरो थाइको १७ सिटे सानो जहाजले क्यालिब्रेसन फ्लाइट सुरु गरेको हो । क्यालिब्रेसन फ्लाइट भएको खबर पाएसँगै पर्यटन व्यवसायी मात्रै होइन, लुम्बिनी क्षेत्रका स्थानिय बासिन्दा पनि खुसीले गद्गद् भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानले भने, “यतिका वर्षको प्रतीक्षाको घडी सकिएको छ । हामी अत्यन्तै खुसी छौँ, कोभिड–१९ का कारण क्यालिब्रेसन फ्लाइट हुँदैन की भन्ने चिन्ता थियो । क्यालिब्रेसन फ्लाइट भएको छ । यो सकिएपछि टेस्टिङ फ्लाइट हुने र कर्मसियल फ्लाइट पनि हुनेछ ।”

    अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएसँगै निजी क्षेत्र मात्रै नभएर समग्र मुलुकवासी र देश नै लाभान्वीत हुने बताए । यसअघि गएको माघ १५ गते शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी भइरहेको बताएका थिए । मन्त्री आलेले भनेको समयभन्दा तीन दिन अगाडि क्यालिब्रेसन फ्लाइट भएपछि पर्यटन व्यवसायी पनि खुसी भएका छन् । नेपाल ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश प्रमुख सागर अधिकारीले भने, “भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले सिङ्गो मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा दिनेछ । मन्त्रीले भनेको समयअगावै जुन ढङ्गले क्यालिब्रेसन फ्लाइट हुँदैछ, सोहीअनुसार नियमित उडान हुने पनि हामी पर्यटन व्यवसायी अपेक्षा गर्दछौँ ।”

    यसैगरी सिद्धार्थ होटल एशोसिएशनका उपाध्यक्ष किशोर श्रेष्ठले क्यालिब्रेसन फ्लाइट भएसँगै होटल क्षेत्रमा पनि खुसीको सञ्चार भएको बताए । उनले भने, “विश्वका विभिन्न मुलुकका पर्यटक लुम्बिनी क्षेत्रमा आउन हवाई यातयातको सिधा सहजताले लुम्बिनी क्षेत्रका होटल व्यवसायी खुसी भएका छन् । यही विमानस्थललाई देखेर यहाँ अर्बौं लगानीमा तारे होटल निर्माण भइरहेका छन् । हामीजस्ता पर्यटन व्यवसायीको लागि खुसीको विषय हो, अब नियमित उडान छिटो होस् भन्ने हाम्रो कामना छ । ”

    सन् २०१५ को जनवरीबाट स्तरोन्नति सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज उड्ने भएपछि कोरोनाले तहसनहस पारेको पर्यटन क्षेत्रको पुनःरुत्थानमा ठूलो सहयोग पुराउने अग्रज पत्रकार चेतन पन्तले विश्वास व्यक्त गरे । नागरिक अगुवाको संस्था विएमजीका अध्यक्ष संस्थापक विजय सागरले लुम्बिनी क्षेत्र त्यसमा पनि भैरहवावासीको लागि क्यालिब्रेसन फ्लाइटले खुसी दिएको बताए । स्थानिय बासिन्दासमेत रहेका सागरले भने, "हामी जस्ता स्थानीयवासी र लुम्बिनी क्षेत्रका आम नागरिक यतिबेला खुसी भएका छौँ । विश्वका विभिन्न देश जान काठमाडौँ जानैपर्ने बाध्यताबाट अब मुक्त हुने बाटो तय भएको छ ।”

    थाइल्याण्डदेखि नै आवश्यक ७ सदस्यीय प्राविधिक टोलीसहित बिहीबार दिउँसो एरो थाइको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भएता पनि क्यालिब्रेसन फ्लाइट भने आज मात्रै गरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहलले बताए । उनले भने, “आजदेखि क्यालिब्रेसन फ्लाइट सुुरु भएको छ । यो काम १५ गतेसम्म हुनेछ । ”

     

    २०७८, फाल्गुण ७ शनिवार०७:३२:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार