दोहा । नजिकैका सल्लाका (रुखका) टुप्पाहरू हल्लिन थालेपछि भ्यालेन्टिना गोर्देइभालाई लाग्यो केही आइरहेको छ । तर, जब उनी नजिकैको पसलमा आश्रय लिन दगुरिन् छर्राको एक टुक्राले उनको बायाँ हातको नरम मासु छेडियो ।
“मैले एउटा झोला समाइरहेकी थिएँ । दुख्यो । यसो हेरेको झोलामा रगत बगिरहेको देखेँ,” ६५ वर्षीया गोर्देइभाले भनिन् । रुस समर्थित पृथकतावादीहरूले बिहीबारदेखि गोलाबारी गरेपछि घाइते हुने चार जनामध्ये उनी एक हुन् । अहिले उनको नाडी र औंलामा पट्टी बाँधिएको छ ।
पूर्वी युक्रेनको मारिन्का बस बिसौनी नजिकै आफूलाई गोली लागेको ठाउँ देखाउँदै उनले भनिन्, आक्रमणमा यहाँ नजिकैको एउटा विद्यालयमा पनि क्षति भएको छ ।
दश हजार मानिसको बसोबास रहेको उक्त सहर पृथकतावादी क्षेत्रबाट केही मिटर मात्र पर ठीक ‘फ्रन्ट लाइन’ मा छ । यो डोनेट्स्कको पश्चिमी छेउमा छ । डोनेट्स्क रुस समर्थक पृथकतावादीहरूले नियन्त्रण गरेको डोनबासका दुई प्रदेशमध्ये एउटाको स्वघोषित राजधानी हो ।
चौध हजारभन्दा धेरै मानिसको ज्यान गएको आठ वर्षको द्वन्द्वपछि यहाँका धेरै नागरिकलाई बन्दुक र तोपखानाको बानी परिसकेको छ । सहरका अधिकांश भवनहरू द्वन्द्वको दागले भरिएका छन् । सग्ला छाना वा झ्यालहरू दुर्लभ छन् ।
यद्यपि, पछिल्ला केही दिनमा रुससँगको तनाव बढ्दै गएपछि धेरै वर्षमा आवासीय क्षेत्रहरू र बालविद्यालयमा पनि आक्रमणहरू सघन (तीव्र) भएका छन् ।
सम्पूर्ण फ्रन्ट लाइनमा तोपको प्रहार तीव्र भएको शनिबार युक्रेनको आन्तरिक मामिला मन्त्रालयले बताएको छ ।
देशको सुदूरपूर्वमा रहेको बन्दरगाह सहर मारिउपोल नजिकै अगाडि रहेका सिपाहीहरूले विस्फोटको अडियो रेकर्डिङ सेयर गर्दै शुक्रबार राति आफूहरूले सम्झेसम्म सबैभन्दा भारी गोलाबारीको अनुभव गरेको बताए ।
शनिबार दुईजना युक्रेनी सैनिक मारिए भने चारजना घाइते भए । अल जजीराले त्यो दिउँसो मारिन्काको भ्रमण गर्दा नजिकै गोलाबारी भइरहेको सुनिन्थ्यो ।

बढ्दो तनावले पश्चिमा शक्तिहरूलाई त्रसित बनाएको छ । युक्रेन अब पूर्णस्तरको युद्धको डिलमा रहेको उनीहरूले हप्तौँदेखि चेतावनी दिएका छन् ।
युक्रेनले आफ्नो क्षेत्रमा रुसले गोलाबारी गरेको र पृथकतावादीहरूमाथि ‘नरसंहार-जातिसंहार’ गरेको आरोप लगाएको छ । पृथकतावादी नेताहरूले त्यसयता मानिसहरूलाई रुसमा उद्धार गर्न आह्वान गरेका छन् र पूर्ण सैन्य परिचालनको घोषणा गरेका छन् ।
अमेरिका र युक्रेनका अधिकारीहरूले रुसी हमलाको बहानाका लागि आक्रमणहरू मञ्चन गरिएको बताएका छन् ।
पश्चिमा मिडियामा आइरहेका महाविनाशक चेतावनीहरूका बावजुद धेरै युक्रेनीहरू रुसबाट बढ्दो खतराको सामना गर्न अडिग छन् । तर, युद्धविराम उल्लङ्घन बढ्दै जाँदा वातावरण परिवर्तन हुन थालेको छ । केहीले फ्रन्ट लाइनबाट अन्य सहरमा शरण लिन थालेका छन् ।
‘उनीहरूले सन्तुलन गुमाएका छन्’
छयालीस वर्षीया ब्लिनोभा टेटियाना एनाटोलिभ्नाको लागि उनको सहरको एउटा वाटर पम्पिङ स्टेशनको गोलाबारी नै असह्य भयो । उनी शनिबार आफ्नो साथीको कारमा मारिन्का नजिकै भोल्नोवाखाबाट पूर्वी बन्दरगाह मारिउपोलमा भागिन् । “डोनेट्स्कमा मेरा आफन्तहरू छन्, उनीहरू सबै र म शान्ति चाहन्छौँ,” उनले भनिन् ।
उक्त क्षेत्रमा रहेका धेरैजसो वृद्ध, बिरामी वा बसाइ सर्न पर्याप्त पैसा नभएका छन् । उनीहरू बढ्दो द्वन्द्वको चपेटामा पर्ने सम्भावना छ । सहायता समूहहरूले फ्रन्ट लाइनको दुवै तर्फका २९ लाख मानिसलाई तत्काल अत्यावश्यक मानवीय सहायताको खाँचो रहेको चेतावनी दिएका छन् ।
बिमारीका कारण आफ्नो पतिको मृत्यु भएपछि र छोराछोरी टाढा गएपछि गोर्देइभा मारिन्काको केन्द्रमा रहेको एउटा सानो बंगलामा एक्लै बस्छिन् । सन् २०१४ मा पहिलो पटक द्वन्द्व हुँदा उनी आफ्नी बहिनीसँग बस्न अर्को गाउँमा सरिन् । उनी पुनः त्यसै गर्ने विचार गरिरहेकी छन् तर छोराछोरीले आग्रह गरेपनि आफ्नो घर छोड्न चाहदिँनन् । उनले आफ्नो चोटको बारेमा पनि छोराछोरीलाई भनेकी थिइनन् ।
“ठूलै कुरा हुन गइरहेको छ । हामीलाई ठ्याक्कै थाहा छैन तर हामी एकदमै डराएका छौँ,” उनले भनिन् ।
यसैबीच, मारिन्काको दक्षिण पूर्वी छेउमा रहेको एउटा सानो गाउँमा ६५ वर्षीया ओलेना इभानिभ्ना आफ्ना तीन नातिनातिनाहरूसँग बस्छिन् । शुक्रबार एकदमै भारी मात्रामा गोलाबारी भएपछि इभानिभ्नाका नातिनातिना विद्यालय नगइ घरमै बस्नुपर्यो । उनीहरू त्यो हप्ताको अधिंकाश समय बंकरहरूमा आश्रय लिएर बिताए ।
इभानिभ्नाले आफ्नो स्वर्गीय पतिसँग मिलेर बनाएको घर पृथकतावादी–नियन्त्रित क्षेत्र नजिकै छ । वर्षौंको दौरानमा यो घरमाथि धेरैपटक प्रहार भएको छ । उनी भन्छिन्, “छानो त चालनी जस्तै भएको छ ।”
शनिबार बिहान नजिकैको विस्फोटनको कम्पनका कारण सिलिङको प्लास्टर झरेको उनले बताइन् । गत हप्तादेखि उनीहरूकोमा बिजुली छैन । अब उनलाई नजिकैको पाइपमा क्षति भए पानी पनि रोकिने डर छ । तर पनि उनीहरूको जाने ठाउँ कतै छैन ।
“उनीहरूले एक वर्षदेखि गोलाबारी गरेका थिएनन् । ठिक थियो तर अहिले उनीहरूको दिमाग खराब भएको छ,” उनले भनिन् ।
“अहिले हामी हाम्रो घर छोड्दैनौँ । तिनीहरूले गोली हान्छन् र हामी लुक्छौँ ।” -अल जजीरा