परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा राख्न पुटिनको आदेश

परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा राख्न पुटिनको आदेश

२०७८, फाल्गुण १६ सोमवार

  • 701
    SHARES

  • परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा राख्न पुटिनको आदेश

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशको आर्मीलाई परमाणु हतियार उच्च शतर्कतासहित विशेष तयारी अवस्थामा राख्न आदेश दिएका छन् ।

    युक्रेनमाथि गएको बिहीबारदेखि रुसले आक्रमण गर्दै आएको छ । युक्रेनमाथिको आक्रमणलाई थप गम्भीर दिशा तर्फ लैजाने शंकेत गर्दै पुटिनले परमाणु हतियार प्रयोग गर्न सक्ने जनाएका हुन् ।

    विश्वव्यापी रुपमा युक्रेनमाथि भइरहेको आक्रमणलाई लिएर रुसको निन्दा हुनु तथा पश्चिमा राष्ट्रहरुको आक्रमक वक्तव्य र प्रतिबन्धका कारण परमाणु हतियार तयारी अवस्थामा राख्नु परेको पुटिनले आफ्ना सुरक्षा प्रमुखलाई बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    तयारी अवस्थामा राख्न भने पनि परमाणु हतियार रुसले प्रयोग गरिहाल्छ भन्ने छैन । अमेरिकाले रुसी निर्णयको तत्काल आलोचना गरेको छ । रुसले स्वीकार गर्न नसकिने गरी युद्धको मार्ग रोजेको अमेरिकी भनाइ छ ।

    गएको हप्ता पुटिनले युक्रेनमा आफूहरुलाई हानी गर्न आउने जो कोहीले गम्भीर मूल्य चुकाउनु पर्ने र त्यो उनीहरुले इतिहासमा भोगेको भन्दा भयानक हुने चेतावनी दिएका थिए ।

    त्यसलाई परमाणु हतियार प्रयोग गर्ने चेतावनीका रुपमा लिइएको थियो र अहिले पुटिनले आफ्नो सैनिकलाई परमाणु हतियार तयारी अवस्थामा राख्न आदेश दिएका हुन् ।

    पुटिनले परमाणु हतियार तयारी अवस्थामा राख्न आदेश दिए लगत्तै युरोपियन युनियनले नयाँ चरणको प्रतिबन्ध तथा जवाफी रणनीति घोषणा गरेको छ ।

    युरोपियन युनियनले युक्रेनलाई हतियारका लागि आर्थिक सहयोग गर्ने, युरोपियन हवाइ क्षेत्रमा रुसी विमानमाथि पूर्ण प्रतिबन्ध तथा रुसका सरकारी सञ्चारमाध्यम स्पुट्निक र रसिया टुडेलाई युरोपियन युनियनमा प्रतिबन्धसहितका नयाँ नियम घोषणा गरेको हो ।

    यसअघि नै पश्चिमा देशले रुसका प्रमुख बैंक तथा पुटिनसहितका धनाढ्यहरुको सम्पत्ती फ्रिज गर्ने गरी प्रतिबन्ध लागु गरेका थिए ।

    पुटिनले आफू र रुसमाथि पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्ध गैरकानुनी रहेको दाबी गरेका छन् । -एजेन्सी । 

    २०७८, फाल्गुण १६ सोमवार०७:००:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार