रुसले युक्रेनमा आफ्नो आक्रमण थप सघन बनाउँदै लगेको छ । युक्रेनको राजधानी किएभलाई प्रमुख निशाना बनाएर रुसी सैनिकले स्थल तथा हवाई आक्रमण तीव्र पारेका हुन् ।
आक्रमणको निशानामा सर्वसाधारण नागरिक तथा विद्यालय, अस्पतालसहितका सार्वजनिक स्थलहरु आएका छन् । यस्तै रुसले सञ्चार संस्थाहरुलाई पनि आक्रमणको निशाना बनाएको छ ।
मंगलबार रुसले राजधानी किएभमा रहेको युक्रेनी टेलिभिजनको टावरलाई लक्षित गरेर गोलाबारी गरेको छ । सो आक्रमणमा पाँचजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसले राजधानी किएभलाई निशाना बनाइरहेको भन्दै स्थानीय बासिन्दालाई चेतावनी दिएको थियो । रुसले किएभका प्राविधिक केन्द्रहरुलाई प्रमुख निशाना बनाइरहेको छ ।
यसअघि युक्रेनको दोस्रो ठूलो शहर खार्किभको फ्रिडम स्क्वायरमा रुसले गोलबारी गरेको थियो । रकेट आक्रमणका कारण त्यहाँ कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले खार्किभमा भएको आक्रमणलाई लिएर रुसले युद्ध अपराध गरिरहेको भन्दै तत्काल रुसलाई युद्ध अपराधी घोषित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले यो कुरा युरोपियन युनियन संसदको विशेष शत्रलाई सम्बोधन गर्ने क्रममा पनि बताए ।
ठूलो आक्रमण गरे पनि रुसी सैनिकले खार्किभ वा मारिपोल शहर कब्जामा लिन सकेका छैनन् । तर त्यस नजिकका अरु बजारहरु पनि रुसी कब्जामा आएका छन् । बख्तरबन्द गाडीसहित सहित रुसी सेनाको ६४ किलोमिटर लामो सवारी जत्तथा किएभ तर्फ अघि बढ्दै गएका बेला थप संकट आएको उल्लेख छ ।
युक्रेनी आर्मी तथा स्वयम्सेवीहरुले रुसी सैनिकलाई रोक्ने प्रयास गरिरहेका छन् । पछिल्लोपटक रुसले गरेको हवाई आक्रमणमा ज्हितोमोयर शहरमा दुईजनाको मृत्यु भएको छ । किएभको पश्चिम तर्फ रहेको यो शहरमा भएको आक्रमणमा अरु तीनजना घाइते भएको उल्लेख छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सले रुसले युक्रेनमा बरबर आक्रमण गरेको भन्दै निन्दा गरेका छन् । अधिकांश अन्तर्राष्ट्रिय समुदाय युक्रेनको समर्थनमा देखिएका छन् । उनीहरुले युक्रेनलाई हतियारसहितका सहयोग गर्दै आएका छन् ।
तर पूर्ण आकारको आक्रमणमा आएको रुससँग जुध्नका लागि आफूहरुलाई हालको सहयोग पर्याप्त नरहेको युक्रेनले बताएको छ । उसले अन्तर्राष्ट्रिय समुदायसँग सक्दो सबै सहयोगका लागि अपिल गरेको छ ।
यसैबीच विश्व बैंकले युक्रेनलाई तीन बिलियन डलर बराबरको असहयोगको तयारी गरेको छ । त्यसमध्ये कम्तीमा ३५० मिलियन डलर आउँदो हप्ता नै उपलब्ध गराउने विश्व बैंकले जनाएको छ । -एजेन्सी । तस्विरः टेलिग्राम