दाङ । दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली काँग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्यो।
काँग्रेसले त्यो बेला जिल्लामा आफ्नो बिरासत् गुमेको महसुस गर्यो। कारणस् पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी काँग्रेसको पक्षमा देखिएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस आफ्नो गुमेको बिरासत पुनः आफ्नो पक्षमा पार्न चाहन्छ। फलतः स्थानीय तहको निर्वाचनको तयारीमा यो दल सकृय बनिसकेको छ।
जिल्लाका दश वटै स्थानीय तहमा आफ्नो पकड कायम राख्ने योजना मुताबिक काँग्रेस गाउँ केन्द्रित भैसकेको छ। काँग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी भन्छन्, ‘चुनाव लक्षीत योजना अनुरुप हामीहरु गाउँ केन्द्रित भैसकेका छौँ।’
त्यसो त काँग्रेसलाई अहिले कम्युनिष्ट पार्टीमा आएको ‘छिन्नभिन्न’ ले पनि जिल्लाको बहुमत आफ्नो पक्षमा पार्ने अवसर पनि छ। तथापी कांग्रेसले यसलाई अवसर मान्दैन। आफ्नै संगठनको मजबुतीलाई उसले जीतको एकमात्रै आधार मानेको छ।
फलतः अहिले काँग्रेस चुनाव केन्द्रित अभियान अन्तर्गत संगठन विस्तारमा होमिएको छ। ‘हामीहरु टोल समिति गठनदेखि पार्टीका जिल्ला, क्षेत्रीय, नगरदेखि वडा समितिका बैठकहरु नियमित गरिहेका छौँ,’ काँग्रेस जिल्ला सभापति डाँगीले भने, यी सबै छलफल अनि बैठक तथा टोल समिति गठनको अभियान चुनावी तयारीसंग सम्बन्धित कार्यक्रमहरु हुन्।’ बिहीबार पनि काँग्रेसले जिल्ला स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेर चुनाव केन्द्रित छलफल गरेको छ।
दुई उपमहानगरसहित एक नगरपालिका तथा ३ गाउँपालिकामा आफ्नो नेतृत्व कायम गरेको एमालेले यो नतिजालाई गुमाउन चाहन्न। पार्टी बिभाजन भएपछि आफूलाई कहिँ न कहिँ केही कमजोर महसुस गरेको एमालेले पनि आफूलाई सबल पार्टीको रुपमा उभ्याउन उस्तै कडा कसरत थालिसकेको छ। एमालेले त चुनाव हुने निश्चितताको प्रचार गर्दै अहिलेदेखि नै गाउँगाउँमा पुगेर स्थानीय तहको निर्वाचनका लागि भोट माग्न समेत थालिसकेको एमाले जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतले जानकारी दिए ।