काठमाडौं । माओवादी केन्द्र आठौं राष्ट्रिय महाधिवेशनबाट गत पुसमा बहुपदीय नेतृत्व प्रणालीमा गयो। महाधिवेशनबाट घोषित केन्द्रीय समितिले पुष्पकमल दाहाललाई नै अध्यक्ष चयन गर्यो। तर, दाहालले दुई महिनासम्म पनि १४ पदाधिकारी नियुक्त गर्न आलटाल गरिरहेका छन्।
जसमा वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ जना छन्। पोलिटब्युरो (केन्द्रीय समितिको एकतिहाइ) र स्थायी समिति (पोलिटब्युरोको एकतिहाइ) पनि गठन भएका छैनन्।
केन्द्रीय समिति विधानतः २ सय ९९ हुनुपर्छ। काठमाडौंमा पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३७ केन्द्रीय घोषणा गरेको थियो। ६२ सदस्य मनोनयन गर्न बाँकी छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
केन्द्रीय समितिको पुस १९ गतेको बैठकले दाहाललाई अध्यक्ष चयन गरेको थियो। उनी झन्डै ३३ वर्षदेखि निरन्तर नेतृत्वमा छन् ।
दाहाल २०४६ सालमा नेकपा (मशाल) को महामन्त्री भएपछि पार्टी नेतृत्वमा आएका हुन् । तर, बहुपदीय प्रणालीमा जाने भनिए पनि अझै एकल नेतृत्वकै धङधङी देखिएको माओवादीकै नेता बताउँछन्।
महाधिवेशनले जनवादी केन्द्रीयता र सामूहिक नेतृत्वको अभ्यास गर्ने निर्णय गरे पनि अध्यक्षले त्यसको उल्लंघन गरेको बताउँछन् केन्द्रीय सदस्य प्रकाश पोखरेल। ‘पार्टीमा व्यक्तिवादी चरित्र हावी भयो’, केन्द्रीय सदस्य पोखरेल भन्छन्, ‘यसलाई हामी निरंकुश प्रवृत्ति पनि भन्छौं। उहाँलाई पार्टी कमिटीको संरचनाप्रति विश्वास नै लाग्दैन। ’