चीनका विदेशमन्त्री वाङ्ग यीले ‘आगोमा घ्यू थप्ने’ कुनै पनि गतिविधिको विरोध गर्ने बताएका छन्। उनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग युक्रेनमा सुरु आक्रमणका सम्बन्धमा भएको चर्चाको क्रममा यस्तो बताएको जनाईएको छ ।
विदेशमन्त्री वाङ्गले रुस र युक्रेनबीच सीधा वार्ताको पक्षमा आफूहरु रहेको बताएको खबरमा उल्लेख छ। वार्ता र संवादबाट मात्रै समस्या समाधान हुने वाङ्गले बताएको जनाइएको छ। अमेरिकी विदेशमन्त्री ब्लिंकन र चिनियाँ विदेशमन्त्री वाङ्गबीच टेलिफोन वार्ता भएको हो।
पछिल्लो दुई हप्तामा दुई देशका विदेशमन्त्रीबीच भएको यो दोस्रो टेलिफोन संवाद हो। रुसले युक्रेनमाथि गरेको आक्रमणपछि चीन चुनौतीमा आएको छ। रुसको सहयोगीका रुपमा रहँदै आएको चीनले युक्रेनमाथि रुसी आक्रमणको आलोचना गरेको छैन। उसले रुसको पनि निन्दा गरेको छैन। संयुक्त राष्ट्रसंघमा युक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा पनि ऊ अनुपस्थित हुँदै आएको छ।
भारतले पनि चीनको जस्तै नीति लिएको छ। चीन युरोपमा युद्धको पक्षमा आफू रहेको देखाउन चाहँदैन। तर रुससँगको सैन्य तथा रणनीतिक सहकार्य पनि बलियो बनाउन चाहन्छ। यसले गर्दा उसलाई अहिलेको समय निकै चुनौतीपूर्ण बनेको हो।
युक्रेनमा रुसी सैनिकले सर्वसाधारण र सार्वजनिक स्थानलाई निशाना बनाएका छन्। कम्तीमा १२ लाख युक्रेनी देश छोड्न बाध्य भइसकेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ्गले अमेरिका, नेटो र युरोपियन युनियनलाई ‘निष्पक्ष वार्ता’ गराएर नेटोलाई लिएर रुसको सुरक्षा चासो सम्बोधन गर्न आग्रह गरेको खबरमा जनाइएको छ। रुस र युक्रेनबीच सोमबार तेस्रो चरणको वार्ताको तयारी छ। तर सो वार्ताबाट पनि युद्ध रोक्न कुनै ठोस निर्णय हुने सम्भावना नरहेको बताइन्छ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीधा वार्ताको प्रस्ताव गरेका छन्। तर तत्काल त्यो सम्भव देखिएको छैन। -ग्लोबल टाइम्सबाट