बार्सिलोनाले बढायो रवाफ, उक्लियो तेस्रो स्थानमा

बार्सिलोनाले बढायो रवाफ, उक्लियो तेस्रो स्थानमा

२०७८, फाल्गुण २३ सोमवार

  • 965
    SHARES

  • बार्सिलोनाले बढायो रवाफ, उक्लियो तेस्रो स्थानमा

    काठमाडौं । स्पेनिस जायन्ट बार्सिलोना आफ्नो स्वभाविक लय समात्दै तेस्रो स्थानमा पुगेको छ ।

    आइतबार राति स्पेनिस ला लिगामा वैकल्पिक खेलाडी मेम्फिस डिपाए र फेरान टोरेसको गोलमा क्याटलान क्लबले इल्चेमाथि २–१ को विजय हासिल गरेको छ ।

    घरेलु टोली इल्चेले फिडेल चाभेसको गोलबाट ४४औँ मिनेटमा अग्रता लिएको थियो । १–० ले पछि परेको अवस्थामा बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले टोरेसलाई दोस्रो हाफको पहिलो मिनेटमै मैदान छिराए । टोरेसले पाब्लो गाभिरालाई प्रतिस्थापन गरे । टोरेसले ६०औँ मिनेटमा बराबरी गोल फर्काए ।

    खेल सकिन ६ मिनेट बाँकी हुँदा डिपाएले पेनाल्टीमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । डिपाए ७५औँ मिनेटमा पिइरे–इमेरिक औबमेयाङको स्थानमा मैदान छिरेका हुन् । 

    ‘‘यस्ता क्षमतावान् फरवार्ड बेन्चमा हुनु हाम्रो लागि खुसीको कुरा हो,’’ बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘‘आज उनीहरूको प्रदर्शनले जित निकाल्न सफल भयौँ ।’’

    ८८औँ मिनेटमा जाभियर पास्टोरेले रातो कार्डको सामना गरेपछि इल्चे १० खेलाडीमा सीमित भएको थियो । लिगमा बार्सिलोनाको यो लगातार तेस्रो र समग्रमा चौथो जित हो । बार्सिलोना पछिल्ला आठ खेलमा अपराजित छ । लिगका ६ खेलमा अपराजित छ ।

    गएको जनवरी २१ मा सम्पन्न कोपा डेल रेमा एथलेटिक बिल्बाओसँग पराजित भएपछि बार्सिलोना हारेको छैन ।

    जितपछि बार्सिलोना २६ खेलबाट ४८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । त्यो दोस्रो स्थानको सेभियाभन्दा सात अंकले पछाडि हो । शीर्ष क्लब रियाल मड्रिडभन्दा १५ अंकले पछाडि हो । बार्सिलोनाले एक खेल कम खेलेको छ । पराजित इल्चे भने २९ अंकका साथ १४औँ स्थानमा छ । त्यो रेलिगेसन क्षेत्रमा रहेको कार्डिजभन्दा पाँच अंकले मात्र माथि हो ।

    बार्सिलोना र चौथो स्थानको एट्लेटिको मड्रिडको समान ४८ अंक छ । एट्लेटिकोले आइतबार राति नै रियाल बेटिसलाई ३–१ ले हरायो । -एजेन्सी । 

    २०७८, फाल्गुण २३ सोमवार०९:०८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार