त्रिवि पदाधिकारीको राजीनामा माग

त्रिवि पदाधिकारीको राजीनामा माग

२०७८, फाल्गुण २५ बुधवार

  • 1.4K
    SHARES

  • त्रिवि पदाधिकारीको राजीनामा माग

    काठमाडौं । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । 

    नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् । 

    त्रिविमा नेविसंघ र आंशिक शिक्षकले लगाएको ताला खोल्ने विषयमा सुझाव दिन छाडेर उनीहरूले उल्टै राजीनामा माग गरेका हुन् ।

    राजीनामा मागेका तीन संगठनले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको राजीनामा मागेका छन् । तीन पदाधकारीमध्ये उपकुलपति र रजिस्ट्रार एमाले निकट हुन् । शिक्षाध्यक्ष भुसाल माओवादी निकट हुन् । 

    विगत लामो समयदेखि भागबन्डामा देशका ११ वटै विश्वविद्यालयमा राजनीति आडमै पदाधिकारी नियुक्ति भइरहेका छन् । त्रिविमा तीन दल हाबी देखिएको छ । उनीहरूले निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लान्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप लगाउँदै राजीनामा मागेका हुन् । तीन संगठनले विज्ञप्ति जारी गरी राजीनामा मागेका हुन् । ती संगठनले उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘आफैंले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्नेजस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्ति दिनेजस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ’ –विज्ञप्तिमा भनिएको छ ।

    उनीहरूले वर्तमान पदाधिकारीलाई त्रिभुवन विश्वविद्यालयमा रहेमा भावी परिणाम भयावह हुनेसम्मको चेतावनी दिएका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा कार्य गर्ने, आफूखुशी नियम बनाएर नियुक्तिलगायतको प्रक्रियामा समेत प्राज्ञिक मूल्यको अवहेलना गर्ने, प्राध्यापक र कर्मचारीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नसक्नु, उनीहरूको जायज मागलाई उपेक्षा गरी आफू समर्थित विद्यार्थी र प्राध्यापकलाई प्रतिकारमा सामेल गराउनेलगायतका संगीन आरोप लगाएर राजीनामा माग गरिएको छ । तीनैवटा संगठनले करार शिक्षकको मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

    २०७८, फाल्गुण २५ बुधवार०७:५७:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार