काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त–११ विरुद्ध ९२ रनले पराजित भएको छ।
लगातार चौथो खेल जित्न २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो।
नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे। यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सागर ढकालले समान एक रन बनाए।
श्रीलंका संयुक्त–११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंका–११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल बनाएको थियो।
श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए।
नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन विकेट लिए। यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए।
यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो। बिहीबार भएको तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो।
नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न फागुन ३० गते श्रीलंकाबाट सिधै युएई जाने तालिका छ।
नेपालले लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ।