झापालाई २ - १ ले पराजित गर्दै झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

झापालाई २ - १ ले पराजित गर्दै झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

२०७८, चैत्र १ मंगलवार

  • 973
    SHARES

  • झापालाई २ - १ ले पराजित गर्दै झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

    विर्तामोड । अघिल्लो संस्करणको विजेता त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

    जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो ।

    आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाए । अर्को गोल २१औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेका थिए । मैदानको मध्यभागबाट पेनाल्टीएरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा गोल गरे ।

    तीन मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्तीमगरले हेडमार्फत गोल गरे । शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीसँग गोलअन्तर घटाए ।
    त्यसयता निर्धारित समयमा कुनै गोल हुन नसकि आर्मीले उपाधि जित्यो । 

    फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए ।

    प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए ।

    प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाए ।

    फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपाण्डा फुटबल क्लब, घरेलु टोली झापा–११, आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो ।

     

    २०७८, चैत्र १ मंगलवार०७:१६:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार