तनहुँको एक विद्यालयका अध्यक्षसहित बीस जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तनहुँको एक विद्यालयका अध्यक्षसहित बीस जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७८, चैत्र १ मंगलवार

  • 1.1K
    SHARES

  • तनहुँको एक विद्यालयका अध्यक्षसहित बीस जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका तत्कालीन अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
     
    सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विद्यालय व्यवस्थापन समितिको २०५१ साल वैशाख ११ गतेको बैठकले एक लाख ६९ हजार रुपियाँ लिई उक्त सार्वजनिक जग्गा भोगचलन गर्ने गराउने निर्णय गरेको थियो । अनुसन्धानका क्रममा उक्त प्रकरणमा तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्यसचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको संलग्नताको पुष्टि भएको छ ।

    मुद्दा दायर गरिएकामध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको छ । घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतमाथि उक्त रुपियाँ बराबरको बिगो मागदाबीसहित हदैसम्मको सजाय मागदाबी दिएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    त्यसैगरी सन्तबहादुर सिँजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकले एक लाख ६९ हजार ५१ रुपियाँ दिई सरकारी सार्वजनिक जग्गालाई भोगचलनसमेत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

    लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु भइसकेकाले तीनै जनाबाहेकका हकमा कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ ।

    त्यसैगरी अख्तियारले गोरखाको तत्कालीन हंशपुर गाविस र मुच्चोक गाविस–३ र ५ मा कार्यरत सचिव दीपकबहादुर दर्जीसहित चार जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र दायर गरेको छ ।

    २०७८, चैत्र १ मंगलवार०८:३३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार