गठबन्धनबिना लड्ने तयारी साथ चुनावमा होमिन माओवादीको निर्देशन, सबै पालिकामा तोकिए कमाण्डर

गठबन्धनबिना लड्ने तयारी साथ चुनावमा होमिन माओवादीको निर्देशन, सबै पालिकामा तोकिए कमाण्डर

२०७८, चैत्र ७ सोमवार

  • 889
    SHARES

  • गठबन्धनबिना लड्ने तयारी साथ चुनावमा होमिन माओवादीको निर्देशन, सबै पालिकामा तोकिए कमाण्डर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनबिना लड्ने तयारीका साथ चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ ।

    निर्वाचन परिचालन सम्बन्धी अभियान निर्देशिका जारी गर्दै माओवादी केन्द्रले प्रदेशभरका सम्पूर्ण शक्ति निर्वाचनमा लागेको जनाएको छ । ‘हामीलाई हार्ने छुट छँदै छैन । हाम्रो हार, निर्वाचनमा हाम्रा उम्मेदवारहरूको हार वा पार्टीको मात्रै हार हुँदैन, हामी हार्‍यौँ भने जनता हार्नेछन्,’ परिपत्रमा भनिएको छ, ‘अभियान टिममा रहने नेतृत्व वा टिम सदस्य कसैको हकमा पनि बहाना बाजी गरेर पन्छिनु वा देखा मात्रै पर्ने कुरा क्षम्य हुनेछैन ।’

    माओवादीले विपक्षीको भण्डाफोर रणनीतिका लागि छुट्टै ‘स्थानीय चुनाव प्रचार–प्रसार तथा प्रकाशन निर्देशिका’ पनि जारी गरेको छ ।

    निर्देशिका अनुसार माओवादी केन्द्रले चैत १५ गतेभित्रै चुनावी अभियानसहित टोलहरूमा पुगिसक्न मातहतका कमिटीहरूलाई परिपत्र जारी गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले चैत १५ गतेभित्र सम्पूर्ण वडा कमिटीको बैठक सम्पन्न गरेर चुनावी अभियानसहित टोल टोलमा परिचालन हुन सर्कुलर जारी गरेका हुन् ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सङ्गठन सुदृढीकरण अभियान अघि बढाएको माओवादी केन्द्रले न्यूनतम ‘एक वडा एक टोल, एक टोल तीन सेल’ गठन गरी जनताको घरघरमा पार्टीको नीति र योजनाका बारेमा जानकारी गराउन निर्देशन दिएको छ ।

    सहिद तथा बेपत्ता योद्धाहरूको परिवार, घाइते तथा जनयुद्ध तथा राजनीतिक आन्दोलनमा पीडित भएकाहरूसँग भेटघाट गरी राजनीतिक कुराकानी तथा अन्य समस्याहरूको बारेमा छलफल गर्न पनि माओवादीले तल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । जनतासँगको सम्बन्ध सुमधुर र सुदृढ बनाउने काममा निरन्तर क्रियाशील रहन र चैत १५ गतेभित्रै पालिका तहमा निर्वाचन परिचालन समिति बनाइसक्नु पर्ने परिपत्रमा उल्लेख छ ।

    वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गर्दा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, कमाण्डका, सदस्य, जिल्लाका पदाधिकारीसमेतलाई उपस्थित गराउन भनिएको छ ।

    निर्वाचनका समयमा विपक्षीबाट विभिन्न आरोप लगाइने र भ्रमहरू सिर्जना गरिने भएकोले त्यसको सशक्त प्रतिवाद गर्न कार्यकर्ताहरूलाई टोल तहमै प्रशिक्षण दिने व्यवस्था मिलाउन पनि भनिएको छ । युवा, महिला, शिक्षक, बुद्धिजीवी र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलाई पनि वडा र टोलहरूमा हुने अभियानमा अनिवार्य परिचालन गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ ।

    नेकपा माओवादी केन्द्रले प्रदेश १ का १४ जिल्लालाई विभिन्न पाँच कमाण्डमा विभाजन गरेर निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । झापा, मोरङ र सुनसरी कमाण्डको नेतृत्व प्रदेश कमिटीका पदाधिकारीहरू गणेश उप्रेती, कुमारी राई र गगन पुरीले, भोजपुर र खोटाङ कमाण्डको नेतृत्व देवान चाम्लिङले, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर कमाण्डको नेतृत्व सागर किराँतीले र धनकुटा, तेह्रथुम र सङ्खुवासभा कामाण्डको नेतृत्व ऋषिराम ढुङ्गानाले गर्ने गरी परिचालन गरेको परिपत्रमा उल्लेख छ ।

    वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । माओवादी केन्द्रले चैत २५ गतेभित्र सम्बन्धित कमिटीबाट उम्मेदवार सिफारिस गरिसक्न भनेको छ । वडाध्यक्ष र सदस्यहरूको नाम वडा कमिटीले र पालिका अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख उपप्रमुखको नाम पालिका कमिटीले सिफारिस गर्ने परिपत्रमा उल्लेख छ । पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखको नाम सम्बन्धित पालिका, जिल्ला समन्वय र कमाण्ड हुँदै प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने र प्रदेश कमिटीले नै अन्तिम निर्णय गर्ने भनिएको छ । उम्मेदवार छनौटमा समस्या देखिने सम्भावनाका आधारमा उम्मेदवार छनौट सहजीकरण उपसमिति गठन गर्न पनि परिपत्रमा भनिएको छ । त्यसअघि प्रदेश १ का १३७ स्थानीय तहमा पालिका स्तरीय सभा आयोजना गरी चैत २४ गते जनआन्दोलन दिवस मनाउन पनि निर्देशन गरिएको छ ।

     

    २०७८, चैत्र ७ सोमवार११:१५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार