युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशका सैनिकहरु रुसी आक्रमणकारीलाई रोक्न सफल भएको बताएका छन् ।
सोमाबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले रुसले ‘सुस्त गति’ मा अघि बढ्ने प्रयास गरिरहे पनि उनीहरु त्यसमा सफल नभएको दाबी गरेका हुन् ।
रुसी सैनिकहरु विचलित भएको र उनीहरुलाई रोक्न सकिएको जेलेन्स्कीले बताएका छन् ।
खार्किभ क्षेत्रमा युक्रेनी सुरक्षाकर्मीले रुसी लडाकु विमान खसाल्न सफल भएको दाबी पनि जेलेन्स्कीले गरेका छन् ।
रुसी युद्ध विमानका चालकका सम्बन्धमा जेलेन्स्कीले भने, ‘उनीहरुमा हृदय, आत्मासहित मानव बनाउने तत्वहरुको सट्टा शून्यता हुनु पर्छ ।’
यसैबीच युक्रेनी सैनिकले राजधानी किएभ नजिकैको शहर पुनः आफूहरुको नियन्त्रणमा आएको दाबी गरेको छ । किएभबाट नजिक रहेको माकारिभ बजार रुसी सैनिकको कब्जामा गएको थियो ।
युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आफ्ना सैनिकले रुसी सुरक्षा बललाई माकारिभबाट बाहिर पठाएको दाबी गरेका हुन् ।
राजधानी किएभबाट ६० किलोमिटर पश्चिममा रहेको माकारिभ रणनीतिक रुपमा महत्वपूर्ण शहर हो । -एजेन्सी ।