काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै छन्। उनी तीनदिनको औपचारिक भ्रमणका लागि आज दिउँसो ३ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिने जनाईएको छ ।
उनी हाल दक्षिण एसियाली देशको भ्रमणमा छन्। पाकिस्तान तथा अफगानिस्तानको भ्रमण गरेका वाङ भारत हुँदै नेपाल आउन लागेका हुन्।
परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङको भ्रमण हुन लागेको हो। वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ।
वाङको भ्रमण अमेरिकी सहयोग परियोजना एमसिसी सदनबाट अनुमोदन भएपछिको परिवेशमा हुन लागेकाले पनि अर्थपूर्ण ठानिएको हो।
वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितसँग भेटवार्ता गर्ने छन्।