काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल कांग्रेसका लागि घातक हुने बताइएको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा संसदीय समिति गठन र ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने एकमहिने अभियानको प्रारम्भिक समीक्षा रहेको छ । केन्द्रीय बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल गर्ने नगर्ने बारेमा सातै प्रदेशका सभापतिले आ–आफ्नो राय राखिसकेका छन् । आजको नेपाल समाचार पत्रमा छापिएको छ ।
आउँदो निर्वाचनमा अन्य दलसँगको गठबन्धर तालमेलबारे नेताहरूको अहिले जे जस्तो धारणा आए पनि ‘ग्राउन्ड रियालिटी’ बुझेपछि मात्र निर्णय गर्ने बताउँदै आएको कांग्रेसले केन्द्रीय समिति बैठकमा ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा ७७ जिल्लामा खटिएका केन्द्रीय सदस्यहरूले बैठकमा प्रारम्भिक प्रतिवेदन पेस गरिरहेका छन् ।
केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले जानकारी दिएअनुसार अहिलेसम्मको छलफलको निष्कर्ष स्थानीय निर्वाचनमा एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा पनि कांग्रेसले जित्छ भन्ने रहेको छ । तालमेल गर्नैपर्ने अवस्था आएमा कुन दलसँग कसरी तालमेल गर्ने भन्ने निर्णय गर्ने जिम्मा तल्लो तहलाई नै दिनुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूको मत रहेको छ ।