काठमाडौं । नेपाली काँग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट देखिएका छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख खोल्दै गएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला पनि सत्ता गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
तर, काँग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका नेता डा। शेखर कोइराला भने काँग्रेस कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्नेतर्फ जोड दिँदै आइरहेका छन् । उनले काँग्रेसले अरूको साथ खोजेर अघि बढ्ने हो भने भारतीय काँग्रेस पार्टी काँग्रेस आईको जस्तो अवस्थामा खुम्चिन पुग्ने चेतावनीसमेत दिँदै आएका छन् ।
यसैगरी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर मैदानमा होमिएका नेता विमलेन्द्र निधिसमेत तालमेलको विपक्षमा छन् । उनले काँग्रेसले कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
स्थानीय तह निर्वाचनको तयारी, दलबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा काँग्रेसले गत शुक्रबारबाट केन्द्रीय समिति बैठकमा छलफल गर्दै आइरहेको छ ।
बैठकमार्फत नै काँग्रेसले आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा पार्टीका तर्फबाट खटिएका केन्द्रीय प्रतिनिधिसँग पनि राय लिइरहेको छ ।
यसैगरी, काँग्रेसले सातै प्रदेशका पार्टीका प्रदेश सभापतिसँग समेत स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा राय लिएको छ ।